कैलाली कारागारभित्र  कैदीबन्दीको कब्जा, सरकार हेरेको हेर्‍यै

कैलाली कारागारभित्र  कैदीबन्दीको कब्जा, सरकार हेरेको हेर्‍यै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

धनगढी – कैदीहरूबीच भएको झडपमा १ जनाको मृत्यु भएपछि कैलाली कारागारलाई कैदीहरूले कब्जामा लिएका छन् ।

शुक्रबार मध्यराति झडप भए पनि त्यसपछि कारागारभित्रको घटनास्थलमा सुरक्षा निकायलाई अवरोध गर्दै कैदीहरूले कब्जामा लिएका छन् ।

कैलालीका प्रमुख जिल्ला अधिकारी (सीडीओ) गोगनबहादुर हमाल, कैलालीका प्रहरी उपरीक्षक (एसपी) बालनसिंह राणा र सशस्त्र प्रहरीका एसपी सुरेन्द्रराज रञ्जीत सहितका सुरक्षा अधिकारीहरू कारागारको अवस्था बुझ्न गएका थिए । तर कैदीहरूले उनीहरूलाई कारागारभित्र प्रवेशमा अवरोध गरेका थिए ।

‘हामीहरू अहिलेसम्म पनि कारागारभित्र पस्न सकेका छैनौं । उनीहरू आक्रोशित छन् । थप घटना नहोस् भनेर नै भित्र प्रवेश गर्न खोजेका छैनौं,’ सीडीओ गोगन बहादुर हमालले भने । जिल्ला सुरक्षा समितिको बैठकले अहिले कारागार सुरक्षाका लागि सशस्त्र प्रहरी पनि तैनाथ गरेको छ ।

घटनापछि राष्ट्रिय मानवअधिकार आयोगको टोली पनि कारागार भित्रको घटनास्थलसम्म पुग्न सकेको छैन । ‘घटनाबारे बुझिरहेका छौं । कारागार प्रशासनको कार्यालयसम्म त पुग्न सकिएको छ तर कारागारभित्र भने जान सकिएको छैन,’ राष्ट्रिय मानवअधिकार आयोगका एक अधिकृतले भने ।

कारागारमा शुक्रबार राति सामूहिक झडप भएको थियो । झडपमा धनगढी उपमहानगरपालिका वडा नम्बर ४ का ४० वर्षका भरत चौधरीको मृत्यु भएको छ भने ४९ जना घाइते भएका छन् । यसअघि ४७ जना घाइते भनिएकोमा घाइते अवस्थामै कारागारको छतमा लुकेका थप २ जना प्रहरीको टोली पुगेपछि फेला परेका हुन् ।

मृतक चौधरीको शव सेती प्रादेशीक अस्पतालको शवगृहमा राखिएको छ । घाइते ४९ जनालाई सेती प्रादेशिक अस्पतालमै उपचार भइरहेको छ । अस्पतालका वरिष्ठ फिजिसियन डाक्टर शेरबहादुर कमरले घाइतेहरूमध्ये अधिकांशका हातखुट्टा भाँचिएका छन् । उनले झडपमा फलामका रडहरूको बढी प्रयोग भएको बताए ।

‘फलामे रडहरूको बढी प्रयोग भएको छ । घाइतेहरूलाई ठूलो चोट लागे पनि उनीहरू खतरामुक्त छन्, १ जनाको शल्यक्रिया भएको छ । १ जनालाई आईसीयूमा भर्ना गरिएको छ,’ डा. कमरले भने । सेती प्रादेशिक अस्पतालको इमरजेन्सीमा उपचारका लागि स्थान नपुगेपछि घाइतेहरूलाई नजिकै रहेको कोरोनाका बेला बनाइएको भवनमा सारिएको छ ।

घाइतेका आफन्तको गुनासो : ‘अस्पतालमा भेट्नै दिइएको छैन’

धनगढी उपमहानगरपालिका–४ का महेश चौधरी बिहानैदेखि तनावमा छन् । उनी कतिबेला सेती प्रादेशिक अस्पतालमा पुगिरहेका छन् भने कतिबेला कैलाली कारागार । उनलाई छोराको अवस्थाका बारेमा केही जानकारी पाइएको छैन ।

‘बिहानदेखि भौंतारिरहेको छु, न भेट गर्न दिइएको छ, न कुनै जानकारी नै दिएको छ,’ अस्पतालको इमरजेन्सीको बाहिरपट्टि भेटिएका उनले भने, ‘लामो समयदेखि कारागारमा झडप भइरहेको थियो, प्रशासनले मतलब गरेन । अहिले ठूलो घटना भयो ।’

उनका छोरा शरद चौधरी लागूपदार्थ मुद्दामा कैलाली कारागारमा थिए । शरदलाई ५ वर्षको जेल सजाय तोकिएको थियो । उनलाई जेल सजाय भोगेको २ वर्ष भयो । ‘छोरा भेट्न जाँदा कारागार भित्रको अवस्था नराम्रो छ भन्दैथ्यो, २ समूहबीच झडप भइरहने र त्यसबाट सबैलाई खतरा रहेको भनियो, कारागार प्रशासनलाई पनि यसबारेमा जानकारी गराइएको थियो तर लापरवाही भएर यस्तो भयो,’ महेश चौधरीले भने  ।

उनी मात्रै होइन, सेती प्रादेशिक अस्पताल र कैलाली कारागारमा कैदीबन्दीका आफन्तहरूको भीडभाड लागेको छ । धनगढीकै रमेश विनाडीलाई पनि आफ्ना भान्जाका बारेका जानकारी छैन । लागूपदार्थ मुद्दामै कारागारमा रहेका उनका भान्जा पनि घाइते छन् ।

‘भान्जाको अवस्थाका बारेमा प्रशासन र कारागारले केही पनि जानकारी दिएको छैन । अस्पतालमा पनि जान दिन्न, कारागारमा पनि जान दिन्न,’ बिनाडीले भने । उनले कारागारभित्र लाठी, रड र भाला कताबाट गए भन्ने गम्भीर प्रश्न उब्जिएको बताए ।

‘झडपमा फलामे रड, भालाहरू प्रयोग भएका छन् । ती कसरी कारागारभित्र पुगे ?’ विनाडीले प्रश्न गरे, ‘यसको छानबिन हुनुपर्छ ।’ उनले लामो समयदेखि कारागारमा झडप भइरहे पनि प्रशासनले त्यसलाई सामान्य रूपमा लिएका कारण यस्तो भएको दाबी गरेका छन् ।