काठमाण्डु – कैलाली-५ सुदूरपश्चिम प्रदेशको राजधानी हो । राजधानी मात्र नभई यो क्षेत्र सुदूरपश्चिम प्रदेशका अन्य क्षेत्रको तुलनामा शिक्षित मतदाता भएको क्षेत्र पनि हो । विगत देखि नै कैलाली–५ का मतदाताले स्वविवेक प्रयोग गरेको पाइन्छ ।
२०६४ को निर्वाचनमा तत्कालीन नेकपा माओवादीका तर्फबाट लिला भण्डारीले साविकको कैलाली–६ (हाल क्षेत्र नम्बर–५) बाट संविधान सभाको निर्वाचन जितेकी थिइन् ।
२०६८ को दोस्रो संविधान सभा निर्वाचनमा कांग्रेसका नेता शेर बहादुर देउवाले चुनाव जितेका थिए । देउवाले यो क्षेत्र छोडेर डडेल्धुरा रोजेपछि भएको उपचुनावमा पनि कांग्रेस नेता पुस्करनाथ ओझाले जीत हासिल गरे ।
२०७४ मा भएको प्रतिनिधिसभा निर्वाचनमा तत्कालिन नेकपाका नारद मुनि रानाले जिते भने २०७९मा कांग्रेसका डिल्लीराज पन्त निर्वाचित भए । अर्थात् यो क्षेत्र हरेक निर्वाचनमा नयाँ उम्मेदवारलाई मौका दिँदै आइरहेका छन् ।
कैलाली–५ मा यसपटक २०७४ र २०७९ मा प्रतिस्पर्धामा रहेका कुनै पनि नेता अहिले उम्मेदवार छैनन् । निर्वाचनमा यो क्षेत्रमा १५ जनाको उम्मेदवारी परेको छ । सबै प्रमुख राजनीतिक दलले नयाँ नेतालाई उम्मेदवार उठाएको छ ।
यस पटकको निर्वाचनमा पनि कैलाली–५ का मतदाताले कसलाई मत दिने भन्ने निक्र्यौल गरिसकेका छैनन् । तर पुराना दलप्रति उनीहरूको आक्रोश भने बढी देखिन्छ । फागुन २१ गते हुने प्रतिनिधसभा निर्वाचनका विषयमा गरिएको स्थलगत रिपोर्टिङले कैलाली–५ मा यस पटक पनि फरक मत परिणाम आउने आकलन भने गर्न सकिन्छ ।
धनगढी–३ की राधिका कार्की विगतमा आश्वासन दिएर जितेका दल र उम्मेदवारले काम गरेर दखाउन नसकेको गुनासो गर्छिन् । उनले यस पटकको निर्वाचनमा मत परिवर्तन गर्ने स्पष्ट सन्देश दिइन् ।
धनगढी–३ कै मतदाता पार्वति धामी विगतमा भोट दिएर जिताएका उम्मेदवारले आफ्ना वाचा पूरा नगरेको बताउँछिन् । धनगढीका स्वतन्त्र मेयर गोपाल हमालको कामको प्रशंसा गर्ने धामी दलबाट भने सन्तुष्ट देखिँदैनन् । अहिलेको पुस्ता नयाँ सोचका साथ अघि बढेकाले परिणाम पनि फरक आउन सक्ने धामीको भनाइ छ ।
यहाँका अधिकांश मतदाता पुराना दलप्रति बेखुशी छन् । राजनीतिक दलले हालसम्म शासन गरे पनि वाचा गरेअनुसार काम नगरेको उनीहरूको गुनासो छ ।
कैलाली–५ मा एक लाख १६ हजार मतदाता छन् । यस क्षेत्रबाट कांग्रेसका प्रदेश महामन्त्री नरनारयण शाह (मनु), एमाले कैलाली अध्यक्ष यज्ञराज ढुंगाना, नेकपाका नेता प्रेम बहादुर आले र रास्वपाबाट आनन्दबहादुर चन्द चुनावी प्रतिस्पर्धामा छन् ।




प्रतिक्रिया