कैलाली ४ : लेखराजलाई साख जोगाउन चुनौती, क्षेत्र फेरेका बीरबहादुर ढुक्क

कैलाली ४ : लेखराजलाई साख जोगाउन चुनौती, क्षेत्र फेरेका बीरबहादुर ढुक्क

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – कैलालीको निर्वाचन क्षेत्र नम्बर ४ मा नेकपा एमालेका लेखराज भट्ट र नेपाली कांग्रेसका वीरबहादुर बलायरबीच रोचक प्रतिस्पर्धा हुँदैछ ।

बलायर यसपटक डोटीबाट निर्वाचन लड्न कैलाली झरेका हुन् । मंसिर ४ मा हुने प्रतिनिधिसभा निर्वाचनमा यी दुई ‘हेभिवेट’ नेताको भिडन्त रोचक हुने देखिन्छ ।

डोटी एकीकृत समाजवादीका प्रेम आलेलाई छाडेर कैलाली झरेका बलायर स्थानीय निर्वाचनको मतपरिणामले उत्साहित छन् । सत्ता गठबन्धनविरुद्ध एक्लै उत्रिएको एमालेलाई साख जोगाउने चुनौती छ । किनभने कैलालीबाट भट्टले ३ वटा संसदीय निर्वाचन लडेका छन् ।

२०६४ सालको संविधानसभामा उनी माओवादीबाट निर्वाचित भएका थिए । ०७४ मा वामगठबन्धनका साझा उम्मेदवार बनेर भट्ट निर्वाचित भए । उनी २०७० सालमा भने कांग्रेसका दीर्घराज भाटसँग पराजित भए । यसपटक गठबन्धनविरुद्ध एक्लै प्रतिस्पर्धामा उत्रिएकाले उनलाई यसपटक संसदको ढोकासम्म पुग्न निकै नै कठिन देखिन्छ ।

उता २०७४ सालमा डोटीमा वाम गठबन्धनका आलेसँग झिनो मतले पराजित भएका बलायर कैलाली–४ मा जित निकाल्नेमा विश्वस्त छन् । उनी २०६४ सालको संविधान सभा निर्वाचनमा डोटी–१ मा एमालेका हर्कबहादुर सिंहसँग पराजित भएका थिए । २०७० सालको दोस्रो संविधान सभा निर्वाचनमा भने विजयी भए । यसपटक भट्टलाई हराएर संसद यात्रा तय गर्ने योजनामा बलायर छन् ।

एमालेबाट पहिलो पटक निर्वाचन लड्न लागेका भट्टलाई आफ्नो प्रतिष्ठा बचाउन पनि जित्नैपर्ने चुनौति छ । स्थानीय तह निर्वाचनको मतपरिणाम हेर्ने हो भने गठबन्धनको जित पक्कापक्की जस्तै छ ।

यस निर्वाचन क्षेत्रमा रहेका ३० वडामध्ये गत स्थानीय निर्वाचनमा कांग्रेसले १५ वडा जितेको छ । माओवादी ४ र एकीकृत समाजवादी एउटामा विजयी भएका छन् । एउटामा स्वतन्त्र उम्मेदवार विजयी भएका छन् । एमालेले ९ वडा जितेको छ ।
त्यसैले पनि भट्टलाई जित हात पार्न कठीन देखिन्छ ।