कैलाली– कैलालीमा वन क्षेत्र अतिक्रमण गरी व्यापार गरेको आरोपमा टेम्पो भीरबाट खसाल्ने कर्मचारीमाथि छानबिन सुरु भएको छ ।
प्रहरीले घटना छानबिन गरी संलग्नमाथि कानूनी कारबाही अघि बढाइएको जनाएको छ । कैलाली प्रहरी प्रमुख एसपी नरेन्द्र चन्दले घटनाको सुष्म अनुसन्धान भइरहेको बताए ।
उनले दोषीहरुमाथि आवश्यक कानूनी कारबाही गरिने बताए । ‘घटनाको अनुसन्धान भइरहेको छ, दोषीमाथि आवश्यक कानूनी कारबाही हुन्छ’, चन्दले काठमाण्डु पाटीसँग भने ।
भीमदत्त नगरपालिकाअन्तर्गत गोदावरी नगरपालिका–४ बासपानीमा स्थानीय ४४ वर्षीया धनादेवी धामीले घर नजिकै सडक किनारामा राखेर खानेकुरा बेच्दै आएको टेम्पो वन कर्मचारीले केही दिनअघि धकेलेर भीरबाट गुल्टाइदिएका थिए ।
उक्त भिडियो सामाजिक सञ्जलमा भाइरल छ । सञ्जालकर्ताले उक्त घटनालाई गरिब जनतामाथि राज्यले प्रदर्शन गरेको निर्दयी व्यवहारको संज्ञा दिएका छन् ।
कर्मचारीले धामीमाथि वन क्षेत्र अतिक्रमण गरेको आरोप लगाएका छन् । सामाजिक सञ्जालमा सार्वजनिक भएको भिडियोमा धामीले सामान जफत गरेर लैजा नर टेम्पो आफूलाई दिन हारगुहार गरिरहेको सुनिन्छ ।
घटनापछि डिभिजन वन कार्यालय कैलालीका प्रमुख रामविचारी ठाकुरसहित २० कर्मचारीले आइतबार सामूहिक विज्ञप्ति प्रकाशित गरी घटनाको बचाउ गरेका छन् ।
पटकपटक त्यसरी व्यापार नगर्न सचेत गराउँदा पनि धामीले अटेर गरेको र कर्मचारीले हटाउन खोज्दा भिरालो जमिनका कारण टेम्पो आफैैं भीरबाट खसेको दाबी विज्ञप्तिमा गरिएको छ ।
विज्ञप्तिमा गैरकानूनी रुपमा गरिएको वन क्षेत्रको अतिक्रमण हटाउने क्रममा चक्का र इञ्जिन बिग्रिएको टेम्पो खसेको दाबी गरिएको छ ।
प्रहरीले सोधपुछका लागि डिभिजन वन कार्यालय प्रमुख ठाकुरसहितलाई पक्राउ गर्ने तयारी गरेको छ ।




प्रतिक्रिया