काठमाण्डु – कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई मंगलबार दिउँसो हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको छ।
जिल्ला प्रहरी कार्यालय धनुषाका डिएसपी रञ्जन अवाले जनकपुरको काव्या अस्पतालमा रहेका सिरोहियालाई थप उपचारका लागि काठमाडौंमा पठाउन रिफर भएसँगै हेलिकप्टरमार्फत पठाइएको जानकारी दिए ।
सिरोहियालाई अहिले मेडिसिटी अस्पतालमा पुर्याएर भर्ना गरिएको छ ।
धनुषा जिल्ला अदालतका न्यायाधीश यदुराज शर्माको इजलासले सोमबार नागरिकतासम्बन्धी कसुरमा सिरोहियालाई थप तीन दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिँदै अनुसन्धानमा शीघ्रता अपनाउन आदेश दिएको थियो ।
सिरोहियामाथि अनुसन्धान गर्न तेस्रो पटक म्याद माग भएको थियो ।
जिल्ला सरकारी वकिल कार्यालय धनुषाले सोमबार अदालतमा पेस गरेको पत्रअनुसार जिल्ला प्रहरी परिसर काठमाडौं लगायत निकायबाट परीक्षणका लागि पठाइएका हस्ताक्षर र हस्तलिखत नमूना परीक्षणको प्रतिवेदन आउन बाँकी छ।
विवरण मगाउने, सिरोहियाको औंलाछापको नमूना परीक्षण गर्न पठाउने र घटना विवरणका कागज बुझ्न बाँकी रहेको भन्दै सरकारी वकिलले अदालतसमक्ष माग गरेको थियो।
ती आधार कारणहरूलाई हेरेर इजलासले सिरोहियालाई सोमबारदेखि बुधबारसम्मका लागि हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो।
जिल्ला प्रहरी कार्यालय धनुषाले जेठ ८ गते अदालतबाट पक्राउ अनुमति लिएको थियो।
पक्राउ गर्न अनुमति लिएसँगै काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सानुराम भट्टराई, एसपी रवीन्द्र रेग्मीसहितको टोलीले कान्तिपुरको थापाथलीस्थित कार्यालय पुगेर उनलाई त्यही साँझ पक्राउ गरेको थियो।
पक्राउ परेका सिरोहियालाई प्रहरीले त्यही राति धनुषा पुर्याएको थियो।




प्रतिक्रिया