काठमाण्डु– नागरिकता कीर्तेसम्बन्धी कसुरमा पक्राउ परेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई पुनः ५ दिनको म्याद थप्न सरकारी वकिल कार्यालयले सिफारिस गरेको छ ।
सरकारी वकिल कार्यालयले पहिलो दिन ५ दिनको म्याद दिएकोमा धनुषा जिल्ला अदालतले तीन दिनको म्याद थपेको थियो । शुक्रबार पुनः ५ दिनको म्याद थप्न सिफारिस भएको हो ।
मंगलबार काठमाडौंस्थित कान्तिपुरको केन्द्रीय कार्यालयबाट पक्राउ परेका सिरोहियालाई अदालतले शुक्रबारसम्म दिएको तीन दिनको म्याद सकिएको छ ।
सिरोहियालाई सरकारी वकिल कार्यालयबाट कडा सुरक्षाबीच धनुषा जिल्ला अदालत लगिएको थियो ।
जिल्ला सरकारी वकिल कार्यालय धनुषाका प्रमुख सुदीप दंगालले सिरोहियाको मुद्दामा अनुसन्धान नसकिएकाले थप ५ दिन म्याद मागिएको बताएका छन् ।
यसैबीच सिरोहियाको पक्षमा वरिष्ठ अधिवक्ता शम्भु थापासहित वकिलले बहस गर्ने भएका छन् ।
सिरोहियाको पक्षमा थापासँगै मधेश प्रदेशका पूर्व मुख्य न्यायाधिवक्ता दीपेन्द्र झा, वरिष्ठ अधिवक्ताहरू सीताराम भट्टराई, शेरबहादुर केसी, रमन श्रेष्ठ, गोविन्द बन्दी र रमण कर्णसहितले जिल्ला अदालतमा बहस गर्ने भएका छन् ।
यता। सिरोहियालाई छाड्न सरकारलाई दबाब दिन जनकपुरमा नागरिक समाज र नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरू प्रदर्शन गरेका छन् । जनकपुरधामका मेयर मनोज साह अदालतकै अगाडि धर्ना बसेका छन् ।




प्रतिक्रिया