दिल्लीमा भएको साम्प्रदायिक हिंसामा मारिनेको परिवारलाई १० लाख दिने केजरीवालको घोषणा


एजेन्सी- नयाँदिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले दिल्लीमा भएको साम्प्रदायिक हिंसामा मारिनेहरुको परिवारलाई १०-१० लाख भारतीय रुपैयाँ राहत दिने घोषणा गरेका छन्। उनले घाइतेहरुको सम्पूर्ण उपचार खर्च राज्य सरकारले बेहोर्ने र घाइते हुनेहरुलाई प्रतिव्यक्ति दुई लाख भारतीय रुपैयाँ दिइने समेत बताए।

यसअघि नै मुख्यमन्त्री केजरीवालले दिल्ली हिंसामा मारिएका प्रहरी रत्तनलालको परिवारलाई एक करोड भारतीय रुपैयाँका साथै परिवारका एक सदस्यलाई रोजगारी दिने घोषणा गरिसकेका छन् । रत्तनलालको उत्तरपूर्वी दिल्लीमा भएको हिन्दु–मुस्लिम दङ्गाका क्रममा ज्यान गएको थियो ।

बुधबार मुख्यमन्त्री र उपमुख्यमन्त्री मनिश सिसोदिया दुबैले हिंसा प्रभावित उत्तरपूर्वी दिल्लीको भ्रमण गरेका थिए । उनीहरुले स्थानीय मानिससँग भेटघाट गरी शान्ति कायम राख्न आग्रह गरेका थिए । दिल्ली हिंसाका क्रममा प्रहरी सहित कम्तीमा ३३ जनाको मृत्यु हुनुका साथै झण्डै २०० जना घाइते भएका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement