कलाकारको संसदीय मोह : रेखादेखि जिग्रीसम्म चुनावी मैदानमा, को-कहांबाट उठ्दैछन् ?


काठमाण्डु – मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचन नजिकिएसँगै कलाकारहरूमा पनि चुनावी सरगर्मी बढेको छ ।

राजनीतिकर्मी, सञ्चारकर्मी लगायत विभिन्न पेसा व्यवसायमा आवद्ध व्यक्तिहरू कोही दलबाट र कोही स्वतन्त्र उम्मेदवारी घोषणा गरिरहेका बेला यस पटक सामाजिक क्षेत्रमा राम्रो पहिचान बनाएका व्यक्तिदेखि फिल्ममा सफल सेलिब्रिटी समेत चुनावी मैदानमा होमिने तयारीमा छन् ।

‘रिल’बाट ‘रियल’तिर प्रवेश गर्न खोजेका कलाकार कतिपय पार्टीबाट सिफारिस भएका छन् भने केहीले स्वतन्त्र उम्मेदवारी घोषणा गरिसकेका छन् । जसमा चलचित्रमा हिरोको उपमा पाएकी नायिका रेखा थापादेखि निर्देशक मनोज पण्डितसम्मले चुनावी मैदानमा उत्रिने तयारी गरेका छन् ।

हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा काठमाण्डु महानगरमा बालेन साह र धरान उपमहानगरमा हर्क राईजस्ता स्वतन्त्र उम्मेदवार विजयी भएपछि नेपाली राजनीतिमा स्वतन्त्र उम्मेदवार उठे जितिन्छ भन्ने मानसिकता पनि बढेको छ ।

त्यसैले पनि हुन सक्छ पछिल्लो समय चुनावको मिति नजिकिँदै गर्दा संसद भवन छिर्ने योजनासहित कलाकारहरू विभिन्न निर्वाचन क्षेत्रबाट धमाधम उम्मेदवारीको घोषणा गरिरहेका छन् ।  यस पटक अभिनेत्री रेखा थापाले सबैभन्दा पहिले उम्मेदवारी घोषणा गरेकी छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टीकी नेतृसमेत रहेकी उनले मोरङ क्षेत्र नम्बर ३ बाट उठ्ने गरी चुनावी अभियान थालिसकेकी छन् । उनी अहिले मोरङमा घर दैलो अभियानमा छिन् । त्यस्तै फिल्म निर्देशक तीर्थ थापा लमजुङबाट उम्मेदवार बन्ने तयारीमा छन् ।कांग्रेसनिकट नेपाल सांस्कृतिक संघका केन्द्रीय सभापति समेत रहेका थापालाई कांग्रेसले लमजुङबाट प्रत्यक्षतर्फ प्रतिनिधिसभा सदस्य उम्मेदवारको रूपमा सिफारिस गरेको हो ।

यता गायिका तथा एमाले नेतृ कोमल वली दाङ–३ बाट प्रत्यक्षतर्फ प्रतिनिधिसभा सदस्यमा उठ्ने तयारीमा छिन् । एमालेमा केही वर्षदेखि सक्रिय वली अहिले दाङ पुगेर चुनावी प्रचार गरिरहेकी छन्। २०७४ को चुनावमा समानुपातिक उम्मेदवार बनेकी वली राष्ट्रिय सभा सदस्य भइसकेकी छन्।

नेपाली फिल्मका निर्माता तथा अभिनेता रोज राणा प्युठानबाट प्रदेशसभा सदस्यका लागि चुनाव लड्ने तयारीमा छन्। कांग्रेसका क्षेत्रीय सभापति समेत रहेका राणाको नाम पहिलो नम्बरमा राखेर क्षेत्रीय कार्यसमितिले उम्मेदवारका रुपमा सिफारिस गरेको छ ।

कांग्रेस निकट सांस्कृतिक संघमा आवद्ध कलाकार विमलराज क्षेत्री पर्वतबाट प्रत्यक्षतर्फ प्रतिनिधिसभामा सिफारिस भएका छन् भने हास्य कलाकार शिवहरि नेपाल ‘बैरागी’ सन्धुपाल्चोकबाट प्रदेश सभाका लागि समानुपातिक उम्मेदवार सिफारिस भएका छन्।

कलाकार शिवशंकर रिजाल ‘जोगिन्दर पानवाला’ सर्लाहीबाट प्रदेशसभामा समानुपातिक तर्फको उम्मेदवारका लागि सिफारिस भएका छन् । त्यसैगरी पप गायक सञ्जय श्रेष्ठ काठमाण्डुको क्षेत्र नम्बर ६ बाट चुनावी मैदानमा आउने तयारीमा छन् ।

पहिले नै उम्मेदवारी दिने घोषणा गरेका श्रेष्ठलाई राप्रपाले प्रतिनिधिसभा निर्वाचनका लासग उम्मेदवारमा सिफारिस गरेको हो ।पुराना अभिनेता गणेश उप्रेती पनि चुनावी मैदानमा होमिने भएका छन् । उनलाई माओवादी केन्द्रले मोरङ २ बाट चुनावी मैदानमा पठाउने तयारी गरेको छ ।

फिल्मका सफल निर्देशक मीनबहादुर भाम कांग्रेसका तर्फबाट चुनावी मैदानमा छन्। उनको नाम मुगुको छायाँनाथ रारा नगरपालिका–४ बाट प्रतिनिधिसभामा समानुपातिकतर्फ सिफारिसमा परेको हो । उनी पिछडिएको क्षेत्र र खस आर्यतर्फको क्षेत्रको प्रतिनिधित्व गर्दै चुनाव लड्ने तयारीमा छन्।

त्यस्तै कलाकारहरु स्वतन्त्रबाट पनि चुनावी मैदानमा उत्रिने तयारीमा छन् । निर्देशक मनोज पण्डितदेखि हास्य कलाकार कुमार कट्टेल, मधुसुधन पाडक सम्म स्वतन्त्रबाट चुनावी मैदानमा उत्रिने तयारीमा छन् । निर्देशक पण्डित काभ्रेपलाञ्चोक–२ बाट प्रतिनिधिसभा सदस्यका लागि चुनावी मैदानमा छन् । यो क्षेत्र एमाले नेता गोकुल बाँस्कोटाको पकड क्षेत्र हो।

त्यस्तै ‘सक्किगोनि’का मुख्य कलाकार कुमार कट्टेल ‘जिग्री’ले पनि झापा ५ बाट उम्मेदवारी दिएका छन् । झापा ५ कै मतदाता रहेका उनी एमाले अध्यक्ष केपी शर्मा ओलीलाई चुनौती दिन उक्त क्षेत्र जाने भएका हुन्।

यता, हाँस्य कलाकार मधुसुदन पाठक उर्फ सिते बा काठमाण्डुबाट चुनाव लड्ने दौडमा छन्। टेलिश्रृखंला ‘सक्किगोनि’का चर्चित कलाकार पाठक काठमाण्डु–५ मा नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलसँग चुनावी मैदानमा प्रतिस्पर्धा गर्ने तयारीमा छन्।

अभिनेत्री करिश्मा मानन्धरले पनि चुनाव उठ्ने मनशाय व्यक्त गरेकी छिन् । केहि समयअघि नेकपा एमालेमा प्रवेश गरेकी करिश्माले पार्टीले उम्मेदवारी बनाए आफू चुनावमा लड्ने बताएकी छन् । यद्यपि कुन निर्वाचन क्षेत्रबाट चुनाव लड्ने भन्नेबारे टुंगो लागेको छैन ।

त्यस्तै, ३ वर्षदेखि काठमाण्डुमा बसेर कलाकारिता क्षेत्रमा पहिचान बनाएका अर्घाखाँचीका दुर्गा बन्जाडेले पनि प्रतिनिधिसभाको निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिने तयारी गरेका छन् । उनले भद्रगोल, गोलमाल, ख्याल ठट्टालगायत टेलिसिरियलहरूमा अभिनय गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement