काठमाडौं – बझाङको कालंगा बेसिनमा साढे ६४ मेगावाटका ३ जलविद्युत आयोजना निर्माण भइरहेका छन् । अबको डेढ वर्षभित्र सम्पन्न भइ राष्ट्रिय प्रसारण प्रणालीमा जोडिने गरी ११ अर्ब रुपैयाँ लागतका यी आयोजना निर्माण भइरहेका हुन् ।
यो बेसिनमा ३८.४६ मेगावाटको माथिल्लो कालंगागाड, १५.३३ मेगावाटको कालंगागाड र १०.७ मेगावाटको सानीगाड निर्माण भइरहेको आयोजना संयोजक सुनिल रेग्मीले बताए । उनका अनुसार एउटै समूहले छुट्टा छुट्टै कम्पनी खडा गरेर ३ आयोजना एकसाथ निर्माण गरिरहेको छा । माथिल्लो कालंगागाडको ५५ प्रतिशत सम्पन्न भएको छ ।
सानीगाड हाइड्रो कम्पनीले २०७४ जेठबाट निर्माण सुरु गरेको आयोजनाको बाँध, सुरुङ र विद्युतगृहको काम एकसाथ भइरहेको उनले जानकारी दिए । आयोजनाको बाँधमा ५० प्रतिशत निर्माण सकिएको छ । मुख्य सुरुङको भौतिक प्रगति ७० प्रतिशत पुगेको छ । ८ किलोमिटर लामो सुरुङ ५.६ किलोमिटर पूरा भएको छ । अबको ९ महिनामा बाँकी काम पूरा भई मुख्य सुरुङ छेडिने पनि उनले बताए । विद्युतगृहको २० प्रतिशत निर्माण सकिएको छ ।
विद्युत उत्पादनपछि निस्कने पानी खोलामा पठाउने निकास नहरको काम भइरहेको कम्पनीले जनाएको छ । आयोजना सम्पन्न गर्न ६ अर्ब ३२ करोड रुपैयाँ लागत अनुमान गरिएको छ । आयोजनामा माछापुच्छ्रे बैंकको अगुवाइमा ८ बैंकले लगानी गरेका छन् । आयोजनाबाट २०७७ असारमा विद्युत उत्पादन गर्ने लक्ष्य राखिएको छ । यस्तै, निर्माणधीन कालंकागाड आयोजना ६५ प्रतिशत सकिएको छ । बाँध क्षेत्रको संरचना निर्माणको काम ६० प्रतिशत सकिएको प्रवर्द्धक कालंगा हाइड्रो कम्पनीले जनाएको छ । आयोजनाको ३ हजार ४ सय मिटर लामो मुख्य सुरुङमध्ये ६५ प्रतिशत खनिएको छ ।
अब १ हजार १ सय मिटर खन्न बाँकी छ । ४ सय मिटर लामो पाइप लाइन पनि राखिएको रेग्मीले बताए । निर्माणाधीन कालंगागाड जलविद्युत आयोजना आयोजनाको १ सय ९० मिटर लामो पेनस्टक सुरुङ पूरा भइसकेको छ । विद्युतगृहमा ४० प्रतिशत प्रगति भएको कम्पनीले जनाएको छ ।आयोजना पूरा गर्न २ अर्ब ८० करोड रुपैयाँ खर्च हुने अनुमान छ । एनएमबी बैंकको अगुवाइमा आयोजनामा ६ बैंकको लगानी छ । बैंकले कुल लागतको ७५ प्रतिशत ऋण लगानी गरेका छन् ।
२५ प्रतिशत स्वपुँजी लगानी छ । आयोजनाबाट २०७६ चैत मसान्तसम्ममा विद्युत उत्पादन गर्ने लक्ष्य छ । यो बेसिनमा बुङ्गल हाइड्रो कम्पनीले प्रवर्द्धन गरेको माथिल्लो सानीगाड हाइड्रो इलेक्ट्रिक आयोजना पनि निर्माणाधीन छ । यो आयोजनाको भौतिक संरचना निर्माणको काम ३५ प्रतिशत सकिएको छ । २०७४ मंसिरबाट निर्माण सुरु भएको आयोजनाको बाँध, सुरुङ र विद्युतगृहको प्रगति क्रमशः २५, ५५ र १५ प्रतिशत पुगेको संयोजक रेग्मीले जानकारी दिए । निर्माणाधीन माथिल्लो सानीगाड जलविद्युत आयोजना यो आयोजनाबाट २०७७ जेठदेखि विद्युत उत्पादन गर्ने तालिका छ । १ अर्ब ८१ करोड लागत अनुमान गरिएको आयोजनामा सिभिल बैंकको अगुवाइमा ४ बैंकले लगानी गरेका छन् ।
निर्माणाधीन ३ वटै आयोजनाबाट उत्पादन हुने विद्युत नेपाल विद्युत प्राधिकरणको बलाँच सबस्टेसनमा लगेर जोडिनेछ । कालंका बेसिनको विद्युत जोडिने बलाँच सबस्टेसनसम्म आवश्यक ४० किलोमिटर प्रसारण लाइन निर्माणको काम पनि अघि बढेको छ । १ सय २० टावर रहने प्रसारण लाइनको ३० प्रतिशत काम सकिएको रेग्मीले बताए । यस बेसिनमा ८ मेगावाटको अर्को आयोजनाको अध्ययन भइरहेको छ ।
प्रतिक्रिया