काठमाडौं – चीनले नेपाल भारतबीच जारी कालापानी विवादबारे दुई पक्षीय वार्ता गरि समस्याको समाधान गर्नुपर्ने बताएको छ ।
काठमाडौंस्थित चिनियाँ राजदूतावासले बिहीबार साँझ एक विज्ञप्ति जारी गर्दै नेपालको भूभाग अतिक्रमण गरि भारतले आफ्नो नक्सामा गाभेको विषयमा चीनले आफ्नो भनाई सार्वजनिक गर्दै कालापानी क्षेत्रको विवादलाई नेपाल र भारतले वार्ता गरी टुंग्याउनुपर्नेमा जोड दिएको छ ।
चीनले नेपालको सार्वभौमसत्ता र भौगोलिक अखण्डताको सम्मान गरेको स्पष्ट पार्दै कालापानी क्षेत्रको विवाद मैत्रीपूर्ण परामर्श र वार्ताका माध्यामबाट समाधान गर्ने सदिच्छा व्यक्त गरिएको जारी विज्ञप्तिमा उल्लेख छ ।
चिनियाँ दूतावासका प्रवक्ताद्धारा जारी विज्ञप्तिमा भनिएको छ, ‘चीन सधैँ नेपालको सम्प्रभुता र भौगोलिक अखण्डताको सम्मान गर्छ, चिनियाँ पक्ष सदिच्छा व्यक्त गर्न चाहन्छ कि नेपाल र भारतले मैत्रीपूर्ण परामर्श र सम्वादमार्फत् कालापानीमाथिको बिवाद समाधान गर्नेछन् ।’
दूतावासले केही मिडियाहरुले चीनप्रति लगाएको आरोपप्रति दुःख व्यक्त गर्दै आधारहीन भ्रम फैलाएर जनताको ध्यान मोड्न चाहेको बताएको छ । विज्ञप्तिमा भनिएको छ,‘ केही गैरजिम्मेवार व्यक्ति र मिडियाले चीनले नेपालको सीमा मिच्यो भनेको हामीले सुनेका छौं । यस्ता आरोप आधारहीन छन् । उनीहरूको उद्देश्य जनमानसमा के सत्य के गलत हो भ्रम पारेर जनताको ध्यान मोड्ने देखिन्छ ।’
वर्षौदेखि नेपाल र चीनबीच राम्रो सहकार्य हुँदै आएको बताउँदै सीमासम्बन्धी मामिलालगायत अन्य क्षेत्रमा चीनले नेपालसँग सहकार्य थप सुदृढ गर्न चाहेको विज्ञप्तिमा उल्लेख छ ।





प्रतिक्रिया