विद्यालय भवन बनाउन दिएको १५ लाखले पिलर मात्रै

विद्यालय भवन बनाउन दिएको १५ लाखले पिलर मात्रै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सुर्खेत – कालिकोटको रास्कोट नगरपालिका–६ सिममष्टास्थित आधारभुत विद्यालय भवन निर्माणका लागि संघीय सांसद कोषमार्फत १५ लाख विनियोजन भएको रकमले पिलर मात्र ठडिएको छ ।

तीन कोठे भवन निर्माणका लागि आर्थिक वर्ष ०७६/७७ मा १५ लाखमा विनियोजन भएको हो । यस विद्यालयमा बाल विकासदेखि तीन कक्षासम्ममा जम्मा २८ जना विद्यार्थी अध्ययनरत छन् ।

कक्षा ५ सम्म सञ्चालन हुँदै आएको भए पनि विद्यार्थी संख्या कम भएको भन्दै तीन कक्षामा झारिएको हो । बालविकास केन्द्रमा ९ जना, कक्षा १ मा ५ जना र कक्षा २ र ३ मा १४ जना मात्र विद्यार्थी अध्ययनरत छन । ५ कक्षासम्मको विद्यालयको दरबन्दी कटौती गरेको भन्दै स्थानीयले विरोध पनि गरिरहेका छन् । विद्यालयको दरबन्दी काटेर ३ कक्षामा झारेर विद्यालयलाई कमाइ खाने भाँडो बनाएको स्थानीयको आरोप छ ।

अहिले विद्यालयमा थोरै विद्यार्थी छन् । विद्यालय निर्माणका लागि आएको रकम पनि अपुरो रहेको स्थानीय नवराज फडेराले बताए । ‘राजनीतिक दलको कमाइ खाने गतिलो भाँडो भएको छ,’ उनले भने, ‘हाम्रा बालबालिकाले गुणस्तरीय शिक्षा कसरी पाउलान ?’ विद्यालय व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका फडेराले आफुलाई विद्यालयको चेक काट्ने बेला मात्र बोलाउने गरेको बताए ।

अरु बेला वास्ता नै नगर्ने उनको भनाइ छ । ५ कक्षासम्म अध्यायन हुने विद्यालय अभिभावकलाई कुनै भेला र छलफल नै नगरी दरबन्दी कटौती गरेर ३ कक्षामा झारेर अझ १५ लाखको भवन पारेर भवन पनि अधुरै राखेर मागी खाने भाँडो बनाएको स्थानीय नरवीर फडेराको आरोप छ ।