काठमाण्डु – कालिकोटको तिलागुफा नगरपालिका ४ राँचुलीमा मलामी गएका १३ जना पहिरोमा पुरिएर वेपत्ता भएका छन् ।
आइतबार दिउँसो मलामी गएका उनीहरु सम्पर्कमा नआएपछि खोजी गर्दा पहिरोमा पुरिएको भेटिएको हो । जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रहरी नायव उपरीक्षक जयश्वर रिमालले तिलाकर्णाली नदीमा लाश जलाउँदै गर्दा खसेको पहिरोमा पुरिएर उनीहरु बेपत्ता भएको जानकारी दिए ।
शनिबार मृत्यु भएका स्थानीय युवक हेमराज शाहीको तिलाकर्णाली नदीमा अन्तिम संस्कार चलिरहँदा त्यहाँ पुगेका मलामीमाथि पहिरो खसेको हो । पहिरोमा पुरिएर तिलागुफा नगरपालिका ४ का नवनिर्वाचित वडाअध्यक्ष परमबहादुर शाहीसहित १३ जना बेपत्ता भएका छन् ।
बेपत्ता हुनेहरुमा कालिकोट तिलागुफा नगरपालिका–४ राँचुलीका ४७ वर्षीय कालिबहादुर शाही, ६३ वर्षीय धनबहादुर शाही, ३१ वर्षीय क्षेत्रजंग शाही, २८ वर्षीय खगेन्द्र शाही, २३ वर्षीय भेषबहादुर शाही, ५५ वर्षीय धन शाही छन्।
त्यसैगरी ७६ वर्षीय अलि शाही, २३ वर्षीय खेमराज शाही, ५७ वर्षीय भक्तबहादुर शाही, ४१ वर्षीय मोतिलाल शाही, २४ वर्षीय नरेश शाही र २३ वर्षीय प्रशान्त शाही पहिरोमा पुरिएर बेपत्ता भएका छन्।
बेपत्ता ५९ वर्षीय परमबहादुर शाही गत वैशाख ३० मा भएको स्थानीय निर्वाचनमा विजयी वडाअध्यक्ष हुन् ।




प्रतिक्रिया