कालिञ्चोकमा पर्यटकको घुइँचो, सवारी साधनमा मनलाग्दी भाडा असुली (फोटोफिचर)


यशोदा भुजेल

काठमाण्डु – दोलखाको धार्मिक तथा प्राकृतिक पर्यटकीय क्षेत्र कालिञ्चोकमा पर्यटकहरुको घुइँचो लागेको छ । दोलखाको उच्च भु–भागमा रहेको कालिञ्चोकमा पर्यटकहरुको संख्या बढेको स्थानियहरुले बताएका छन् । अंग्रेजी नयाँ बर्ष मनाउनेहरुको भिड कालिञ्चोकमा देख्न सकिन्छ ।

केही दिनदेखि लगातार हिमपात भएसँगै कुरी तथा कालिञ्चोक मन्दिर आसपासमा तीन फिटभन्दा बढी हिउँ जमेको छ । तीन हजार ४२ मिटरको उचाइमा रहेको यो क्षेत्रमा पुसदेखि फागुनसम्म हिमपात हुने गर्छ । हिउँदको समयमा सधैँजसो हिउँ पर्ने हुँदा हिउँमा खेलिने खेल स्कीका लागि पनि पर्यटक कालिञ्चोक क्षेत्रमा पुग्ने गरेका छन् ।

यस क्षेत्रबाट हिउँको मज्जासँगै गौरीशङ्कर हिमाल, रोल्वालिङ हिमशृङ्खलालगायत विभिन्न क्षेत्रको अवलोकन गर्न सकिन्छ । हिमपातपछि दोलखामा हिउँ खेल्नकै लागि दैनिक हजारौँको सङ्ख्यामा आन्तरिक तथा बाह्य पर्यटक आउने गरेका छन् । पर्यटक प्रायः कालीञ्चोकको कुरी जाने, हिउँसँग रमाउने र केबुलकार चढ्ने उद्देश्यले दोलखा आउने गरेको पाइएको स्थानिय रमेश वलीले बताए ।

आन्तरीक पर्यटकसंगै नयाँ बर्ष मनाउन भारतिय पर्यटकहरुसमेत कालिञ्चोक क्षेत्रमा पुग्ने गरेका छन् । राजधानी काठमाण्डु तथा तराईसँग सहजै छोटो दूरीमा सडक सञ्जालले जोडिएको कारण कालिञ्चोक क्षेत्रमा तराई तथा भारतीय मूलका पर्यटकको सङ्ख्यामा वृद्धि हुँदै गएको पर्यटन व्यवसायी दावा लामाले सुनाए ।

कालिञ्चोक भगवतीको दर्शनसंगै हिउँ खेल्न पाइने भएकाले कालीन्चोक रोजेको काठमाण्डुबाट कालिञ्चोक पुगेकी देवी माया भुजेलले बताइन् । तर यातायात व्यवसायीले देउरालीबाट १८ किलोमिटरमा मनलाग्दि भाडा असुलेपछि प्रशासनको लापरबाही देखिएको उनले बताइन् । त्यहाँका यायातात व्यवसायीले सडकको दुरावस्था देखाउँदै प्रतिव्यक्ति एक हजार सम्म भाडा असुल गर्ने गरेका छन् ।

भुजेल भन्छिन्, ‘देउरालीबाट कुरीसम्म पुगेको १८ किलोमिटर दुरीको भाडा एक हजार रुपैयाँ लियो । यो त काठमाण्डुबाट आउन भन्दा पनि महँगो पर्यो । प्रशासनको लापरवाही देखियो ।’

अर्की पर्यटक निमा शेर्पाले पनि हिउँ मा रमाउनकै लागि कालिञ्चोक आएको बताइन् । यस्तै सर्लाहीबाट कालिञ्चोक पुगेका रमेश यादव पनि भाडाबारे पुर्नविचार गर्न आग्रह गर्दै भन्छन्, ‘धार्मिक तथा पर्यटकीय स्थल भएका कारण आन्तरिक तथा बाह्य पर्यटकहरुका लागि आकर्षक गन्तव्य भएपनि यातायात व्यवसायीहरुको मनलाग्दी भाडाका कारण यात्रुले धेरै सास्ती खेप्नु परेको छ ।’

अहिले कालिञ्चोक क्षेत्रमा दैनिक पन्ध्र सयभन्दा बढी पर्यटक भित्रिने गरेको कालिञ्चोक कुरीस्थित होटल सुनपातीका सञ्चालक हरि वलीले बताए ।

कालिञ्चोक क्षेत्रमा मात्र तीन हजार ५ सयदेखि ४ हजारसम्म पर्यटक सहजै व्यवस्थापन गर्न सकिने गरी होटल सञ्चालनमा रहेको व्यवसायी वलीले बताए । कुरी क्षेत्रमा पर्यटकलाई लक्षित गरी सुविधासम्पन्न करिब १ सय होटल सञ्चालनमा छन् ।

ती सबै होटल एक सातासम्मका लागि बुकिङ भइसकेको उनको भनाइ छ । सडकमा हिउँ जमेकाले कुरीसम्म पुग्नका लागि समस्या भएपछि चरिकोटका होटल समेत भरिभराउ छन् । हिउँ परेसंगै कालिञ्चोक क्षेत्रमा खानेपानिको समस्या देखिन थालेको छ । पर्यटकको वृद्धि हुदा पानीको व्यवस्थापनमा कठिनाई भइरहेको होटल व्यवसायिहरु बताउछन् । अहिले ट्याङ्करबाट पानी ल्याएर व्यवस्थान गरिएको स्थानीय होटल व्यवसायी सोनाम शेर्पाले बताए ।

काठमाण्डुबाट १३३ किमीको सडक यातायातबाट चरिकोट पुगेपछि १८ किमी दूरी पार गरेर कालिञ्चोक पुग्न सकिन्छ । तर पर्यटकको संख्या वृद्धि भएसंगै सवारीसाधनले चर्को भाडा लिने गरेको पर्यटकहरुको गुनासो छ । १८ किलोमिटर यात्राका लागि सवारीसाधनले १ हजार देखि १२ सय सम्म असुल्ने गरेको पर्यटकहरुको गुनासो छ । सडक पुर्वाधार विकास संगै भाडा नियमन गर्न पर्यटकहरुले सुझाव दिने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement