मूल्यवृद्धि र कालोबजारी गर्नेलाई कारवाही गर्न सरकारलाई समितिको निर्देशन

मूल्यवृद्धि र कालोबजारी गर्नेलाई कारवाही गर्न सरकारलाई समितिको निर्देशन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले चाडपर्वका बेला अत्याधिक उपभोग हुने दैनिक उपभोग्य सामग्रीको अस्वभाविक मूल्यवृद्धि, कालोबजारी तथा जनस्वास्थ्यलाई खेलवाड गर्ने र गुणस्तरहीन खाद्य सामग्री बिक्री वितरण गर्नेविरुद्ध कडा कारवाही गर्न सरकारलाई निर्देशन दिएको छ ।

गृहमन्त्री बालकृष्ण खाँणको उपस्थितिमा बिहीवार बसेको समितिको बैठकले म्याद सकिएका अखाद्य वस्तु, पुनःमिति राखी बिक्री वितरण गर्नेलगायत गैर कानुनीकार्य नियन्त्रणका लागि अन्य सरकारी निकायको समन्वयमा बजार अनुगमन गर्न पनि आग्रह गरेको छ । यस्ता कार्यमा दोषी देखिएकालाई कारवाहीको दायरामा ल्याउन समेत समितिले सरकारलाई निर्देशन दिएको छ ।

समितिका सभापति शशी श्रेष्ठले आवश्यक परे कानुन संशोधन गरेरै भए पनि कारवाहीको दायरामा ल्याउन भनेको जानकारी दिए । बैठकले दार्चुला ब्यास गाउँपालिका–२ का तुइन तर्ने क्रममा खसेर जयसिंह धामी बेपत्ता भएको घटना प्रकरणमा समितिको गम्भीर ध्यानाकर्षण भएको र सत्यतथ्यसहितको प्रतिवेदन यथाशीघ्र सार्वजनिक गर्न पनि निर्देशन दिएको छ । समितिले पीडित परिवारलाई उचित राहतको व्यवस्था गर्न पनि आग्रह गरेको छ ।

त्यस क्षेत्रको स्थानीय बासिन्दाको सुरक्षाका साथै पुल, मोटरबाटोलगायत आवश्यक पूर्वाधारको यथाशीघ्र निर्माण गर्न पनि निर्देशन दिएको सभापति श्रेष्ठले जानकारी दिएका छन् ।