महामन्त्री थापालाई नेता गुरुङको जबाफ-कुनै पनि हालतमा विशेष महाधिवेशन हुँदैन

महामन्त्री थापालाई नेता गुरुङको जबाफ-कुनै पनि हालतमा विशेष महाधिवेशन हुँदैन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली कांग्रेसका केन्द्रीय सदस्य कल्याणकुमार गुरूङले कुनै पनि हालतमा विशेष महाधिवेशन नहुने बताएका छन् ।

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले विशेष महाधिवेशनको विकल्प नरहेको बताइरहेका बेला संस्थापन पक्षीय नेता गुरुङले विशेष महाधिवेशन नहुने बताएका हुन् ।

गुरुङले केन्द्रीय कार्य समितिको बैठकमा आजसम्म विशेष र नियमित महाधिवेशनको प्रस्ताव आधिकारिक रुपमा नआएको पनि उल्लेख गरेका छन् ।

विशेय महाधिवेशन हुनु पर्ने महामन्त्री थापाको भनाइको प्रतिवाद गर्दै गुरुङले फेसबुकबाट जवाफ फर्काउँदै लेखेका छन्, ‘साथीहरूले फोन गरेर सोध्नु हुन्छ– के विशेष महाधिवेशन मंसिरमा हुन्छ ? मैले भनेँ– बाहिर हल्ला चलेको जस्तो केही पनि छैन ।’

गुरुङले निर्वाचन अघि महाधिवेशन सम्भव नरहेकोले वर्तमान सभापतिकै हस्ताक्षरमा पार्टी निर्धक्क निर्वाचनमा जाने पनि ठेकुवा गरेका छन् ।

महामन्त्री थापाले पार्टीका नेता–कार्यकर्ताहरूले आफूलाई सभापति देउवाकै हस्ताक्षरमा चुनावमा जाने विषयमा प्रश्न गरिरहेको सोमबार बताएका थिए ।

विशेष महाधिवेशनले पार्टी सभापति, पदाधिकारी वा सदस्यलाई हटाउने व्यवस्था विधानको धारा १७ (२) मा कहिँ कतै नलेखिएको पनि उनले दाबी गरेका छन् ।

गुरुङले लेखेका छन्, ‘विधानमा व्यवस्था भएको मापदण्ड अनुसार हस्ताक्षरहरूको सनाखत र प्रमाणीकरण पनि भई सकेको छैन । यसको लागि आवश्यक नियमावली र कार्यविधि पनि बनिसकेको छैन । पार्टीको केन्द्रीय कार्य समितिको बैठकमा छलफलको लागि औपचारिक प्रस्तावको रूपमा पनि आएको छैन । यस सम्बन्धमा पार्टीको केन्द्रीय कार्य समितिले कुनै निर्णय पनि गरिसकेको छैन । साथसाथै, पार्टीले २०८२ फाल्गुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा सहभागी हुने निर्णय गरि सकेको छ । पार्टीले प्रतिनिधि सभा र राष्ट्रिय सभाको निर्वाचनमा सहभागी हुने सम्पूर्ण तयारीको काम सम्पन्न गर्नु पर्नेछ । पार्टी एकता कायम राख्नु छ र पार्टीलाई अझ बढी एकताबद्ध बनाउनु छ । यसैले पार्टीले अहिले विशेष महाधिवेशनमा अलमलिने सम्भावना कम देखिन्छ ।’