राप्रपा नेपालका अध्यक्ष थापाले लेखेको ‘बहिनीलाई चिठी’ विमोचन

राप्रपा नेपालका अध्यक्ष थापाले लेखेको ‘बहिनीलाई चिठी’ विमोचन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री कमल थापाले लेखेको ‘बहिनीलाई चिठी’ नामक पुस्तक शनिबार विमोचन गरिएको छ ।

बहिनी विमला विष्टप्रति समर्पित पुस्तकमा जीवन दर्शन, वियोग, राजनीतिक विषयवस्तु, राष्ट्रियता लगायत ६ वटा खण्डहरू छन् ।

कृतिमा दाजुभाइ र दिदीबहिनीको माया, प्रेम र बिछोड, सुखमय जीवन, विश्वासघात लगायत विषयमा कविता रचना गरिएको छ ।

शनिबार आयोजित कार्यक्रममा नेपाल शिक्षा परिषद्की अध्यक्ष वरिष्ठ साहित्यकार रमा शर्माले कृति लोकार्पण गर्दै वियोगलाई शक्तिमा रूपान्तरण गर्न सिर्जना गरिएको पुस्तक प्रेरणादायी रहेको बताइन् । उनले नेपाली साहित्यको विकासमा कृतिले महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरिन् ।

कृतिका लेखक थापाले साहित्यप्रति अभिरुचि भएकाले गीत, कविता लेख्ने गरेको बताउँदै बहिनीसँगको बिछोडको पीडालाई अभिव्यक्त गर्न कृति रचना गरेको जानकारी दिए ।

साहित्यकार डा. बमबहादुर थापा जितालीले कविता विषयवस्तुका हिसाबले स्वच्छन्द लयमा रहेको बताउँदै कवितामा बहिनीलाई दिइएको अर्ती, उपदेश भावपूर्ण रहेको साथै मुलुकमा सनातनी, वैदिक महत्त्वलाई दर्शाउन खोजिएको बताए ।

पूर्वरथि नेत्रबहादुर थापाले शोकमा लेखिएको कृतिले बेथितिलाई मर्मस्पर्शी रूपमा प्रस्तुत गरेकाले केही कविताले पाठकलाई भावुक बनाउने उल्लेख गरे । लेखक थापाका यसअघि नाकाबन्दी र भूराजनीति, बुवा र द्वन्द्व व्यवस्थापनका चुनौती नामक कृति प्रकाशित छन् ।