धनगढी – सुदूरपश्चिम प्रदेश सरकारका नवनियुक्त मुख्यमन्त्री कमलबहादुर शाहले सोमबार पदबहाली गरेका छन् ।
पदबहाली गर्दै उनले प्रदेशमा बजेट शून्यताको अवस्था चाँडै अन्त्य गर्ने प्रतिबद्धता जनाए ।
‘बजेट शून्यताको अन्त्य गर्न सचिवहरूसँग छलफल गरेर राजस्व संकलन र दैनिक खर्चको निकास छिट्टै दिन्छौं,’ उनले भने ।
आर्थिक वर्ष २०८१/८२ का लागि प्रदेश सभामा प्रस्तुत बजेटमाथि छलफल गरेर पारित गर्नमा भएको ढिलाइ भएपछि प्रदेशमा साउन १ गतेबाट बजेट शून्यताको अवस्था छ ।
मुख्यमन्त्री शाहले प्रदेश सरकार मातहतका निकायमा वित्तीय अनुशासन, सुशासन प्रबर्द्धन र भ्रष्टाचार न्यूनीकरणका लागि अध्ययन गर्न मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिवको संयोजकत्वमा एक कार्यदल गठन गरेका छन् ।
कार्यदललाई १५ दिनभित्र प्रतिवेदन पेश गर्नुपर्ने गरी जिम्मेवारी दिइएको छ ।
प्रदेशका सरकारी अस्पतालमा बिरामीलाई आवश्यक पर्ने रगत निःशुल्क उपलब्ध गराउने निर्णय पनि उनले गरेका छन् । यसका लागि नेपाल रेडक्रस सोसाइटीको सहकार्यमा निःशुल्क ‘ब्लड बैंक’ सञ्चालन र व्यवस्थापनका लागि अध्ययन गरी सोको कार्यान्वयनका लागि आवश्यक निर्णय गर्न सामाजिक विकास मन्त्रालय निर्देशन दिने निर्णय गरिएको छ ।
उनले प्रदेशका नागरिकको विपद् जोखिम दुर्घटना बीमा गर्ने निर्णय गरेको जनाइएको छ । कार्यक्रम सञ्चालनका लागि अध्ययन गरी आवश्यक निर्णय गर्न आन्तरिक मामिला तथा कानून मन्त्रालय निर्देशन दिने निर्णय गरिएको छ ।
नेपाली कांग्रेस संसदीय दलका नेता एवं नवनियुक्त मुख्यमन्त्री शाहको सिफारिसमा नेपालको संविधानको धारा १६८को उपधारा (९) बमोजिम प्रदेश प्रमुख नजिर मियाँले सोमबारै प्रदेशको मन्त्रिपरिषद् गठन र कार्यविभाजन गरेका छन् ।
मन्त्रिपरिषद्को गठन र कार्यविभाजनअनुसार बहादुरसिंह थापाले आर्थिक मामिला, सुरेन्द्रबहादुर पालले भौतिक पूर्वाधार विकास र मेघराज खड्काले सामाजिक विकास मन्त्रीको जिम्मेवारी पाएका छन् ।
लक्ष्मणकिशोर चौधरी उद्योग, पर्यटन, वन, तथा वातावारण मन्त्री, हिरा सार्की आन्तरिक मामिला तथा कानून मन्त्री र वीरबहादुर थापा भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रीमा नियुक्त भएका छन् । प्रकाशबहादुर बम आर्थिक मामिला, सरस्वती खड्का सामाजिक विकास र निर्मला साउँद भौतिक पूर्वाधार विकास राज्यमन्त्रीमा नियुक्त भएका छन् ।
आर्थिक मामिला मन्त्री थापा र समाजिक विकास मन्त्री खड्का, राज्यमन्त्रीहरू प्रकाशबहादुर बम र सरस्वती खड्का कांग्रेसका सांसद छन् । भौतिक पूर्वाधार विकास मन्त्री पाल, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री थापा र आन्तरिक मामिला तथा कानून मन्त्री सार्की एमालेका सांसद हुन् ।
उद्योग, पर्यटन, वन तथा वातावरणमा नियुक्त चौधरी नागरिक उन्मुक्ति पार्टीका सांसद हुन् भने राज्यमन्त्रीमा नियुक्त निर्मला साउँद एमालेकी सांसद हुन् ।
प्रदेश प्रमुख मियाँले नवनियुक्त मुख्यमन्त्री र मन्त्रीलाई छुट्टाछुट्टै रूपमा पद तथा गोपनीयताको शपथ गराए । सोही समारोहमा मुख्यमन्त्री शाहले नवनियुक्त राज्यमन्त्रीलाई पद तथा गोपनीयताको शपथ गराएका छन् ।
नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम आईतबार नेकपा एमाले सहितका दलको समर्थनमा शाह प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका थिए । उनी दोस्रोपटक मुख्यमन्त्रीमा नियुक्त भएका हुन् ।
प्रदेश सभामा नेपाली कांग्रेसका १८, नेकपा एमालेका ११, नेकपा माओवादी केन्द्रका सभामुखबाहेक १०, नागरिक उन्मुक्ति पार्टीका ७, नेकपा एकीकृत समाजवादीका ४, राष्ट्रिय प्रजातन्त्र पार्टीका १ र स्वतन्त्र १ सदस्य छन् ।
प्रतिक्रिया