हेप्ने काम भयो भने हिन्दू, बुद्धिष्ट र किराँतहरू चुप लागेर बस्दैनन् : कमल थापा


काठमाण्डु – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले सनातन धर्मको रक्षाका निमित्त उभिएका युवाहरूलाई अवाञ्छित किसिमबाट मुद्दा लगाएर कारबाही गर्ने प्रयास गरे चुप लागेर नबस्ने चेतावनी दिएका छन् ।

शुक्रबार काठमाडौंमा आयोजित विरोध सभालाई सम्बोधन गर्दै उनले भोटका लागि विदेशी डलरको लोभ वा राजनीतिक स्वार्थका लागि अल्पसंख्यकहरूलाई रिझाउने नाममा बहुसंख्यक हिन्दू, बुद्धिष्ट र किराँतीहरूलाई कमजोर बनाउने र हेप्ने काम भयो भने हिन्दू, बुद्धिष्ट र किराँतहरू चुप लागेर नबस्ने बताए ।

राप्रपा नेपालले तेस्रो जनआन्दोलनको तयारी थालेको उनले बताए । उनले देशमा करीब डेढ दशकदेखि राज्यसत्ता कब्जा गरेर मुलुकमा भ्रष्ट व्यवस्था सञ्चालन गरिरहेकाहरूले जनताको व्यवस्था र अवस्थामा परिवर्तन गर्ने कुरा सम्भव नरहेको जिकिर गरे ।

अध्यक्ष थापाले सत्तामा कब्जा जमाएका भ्रष्ट शासकहरूको अकर्मण्यता, सत्ता लिप्सा र विदेशीको दलाली गर्ने आत्मसमर्पणवादी प्रवृत्तिले गर्दा अहिले सामान्य रोजगारीको निमित्त पनि नेपालको युवा जनसंख्याको आधाभन्दा बढी विदेश पलायन हुन बाध्य भएको बताए । लोकतन्त्रको आवरणमा केवल केही सीमित राजनीतिक दलहरूले नेपालमा सिन्डिकेटतन्त्र कायम गरिरहेको उनको आरोप छ ।

अध्यक्ष थापाले देशको राष्ट्रिय अस्तित्व, स्वतन्त्रता र सार्वभौम सत्ता नै जोखिममा पर्नसक्ने खतरा रहेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement