गणतन्त्र र धर्मनिरपेक्षता स्वतः धरासायी हुने अवस्थामा पुग्यो : अध्यक्ष थापा

गणतन्त्र र धर्मनिरपेक्षता स्वतः धरासायी हुने अवस्थामा पुग्यो : अध्यक्ष थापा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

भक्तपुर – राप्रपा नेपालका अध्यक्ष कमल थापाले संघीय धर्मनिरपेक्ष गणतन्त्रभित्र विद्यमान अन्तर्विरोध र विरोधाभासको परिणामस्वरूप व्यवस्था स्वतः धरासायी हुने अवस्थामा पुगेको ठोकुवा गरेका छन् ।

आईतबार भक्तपुरमा आयोजित पार्टीको मध्यमाञ्चल विकास क्षेत्र समन्वय समितिको विस्तारित बैठकलाई सम्बोधन गर्दै उनले प्रमुख राजनीतिक दलहरूको अकर्मण्यता र भ्रष्ट प्रवृत्तिका कारण व्यवस्था असफल भएको टिप्पणी गरे ।

गत फागुन ७ गते प्रजातन्त्र दिवसको अवसरमा पूर्वराजा ज्ञानेन्द्रबाट दिइएको सन्देश देशलाई संकटबाट मुक्त तुल्याउने सदासयताका साथ आएको राष्ट्रिय मेलमिलापको प्रस्ताव भएको बताए । उनले भने, ‘यो प्रस्तावलाई सकारात्मक रूपमा लिएर हिन्दूराष्ट्र र राजसंस्थाको पुनःस्थापना एवं संघीयताको खारेजीका निम्ति सोच्न सबै राजनीतिक दलहरूलाई आग्रह गर्छु ।’

राजा सहितको प्रजातन्त्र भनेको निरंकुश व्यवस्था नभएको भन्दै उनले राजा र जनताको साझेदारीले बहुदलीय लोकतान्त्रिक शासन प्रणालीलाई सुदृढ तुल्याउने बताए । राजाको सन्देश प्रजातन्त्र, बहुदलीय संसदीय व्यवस्था र दलहरूको विरुद्धमा नभएको समेत उनले बताए । देशलाई संकटबाट मुक्त तुल्याउन राजाले सहयोगका लागि गरेको आह्वानलाई राप्रपा नेपालले स्वागत गर्ने उनले बताए ।

राष्ट्रले भोग्नुपरेको संकटबाट मुक्तिको निम्ति राजाले सहयोग मागेको बेलामा पनि राजावादी, हिन्दूवादी र राष्ट्रवादीहरू एकठाउँमा उभिन नसक्नु दुर्भाग्यपूर्ण भएको उनले बताए । अर्कोतर्फ केही अराजक तत्वहरूबाट राजा र हिन्दूराष्ट्रको नाम लिँदै तथा गैरजिम्मेवार वक्तव्य दिने, परिस्थितिलाई उत्तेजित बनाउने एवं राजा र दलहरूबीचको सम्बन्ध बिगार्ने काम हुनु उदेकलाग्दो भएको उनले बताए ।