काठमाण्डु – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले प्रमुख राजनीतिक दलहरूप्रति जनता आक्रोशित रहेको बताएका छन् ।
बिहीबार काठमाण्डुमा आयोजित उपत्यका स्तरीय अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष थापाले २०६२/०६३ को जनआन्दोलनपछि मुलुकमा आमूल परिवर्तन र समृद्धिको सपना बोकेका नेपाली जनताको त्यो सपना अपुरो मात्र नभई अब भविष्य नै अन्धकारमय बन्ने खतरा देखिएको बताए ।
कांग्रेस, एमाले र माओवादीजस्ता प्रमुख दलहरूका नेताहरूको भ्रष्ट प्रवृत्तिका कारण जनतामा तीव्र वितृष्णा बढेको उनले बताए । उनले भने, ‘विगत केही वर्षदेखि नेपाली जनतामा राजनीतिक दलहरू, तिनीहरूले लिएको व्यवस्था र नेताहरूको भ्रष्ट प्रवृत्तिका कारण ठूलो असन्तुष्टि र आक्रोश छ, ६२–६३ को आन्दोलनपछि आमुल परिवर्तन हुन्छ, नेपाली जनताको आर्थिक विकास र समृद्धि हुन्छ भन्ने धेरै ठूलो सपना नेपाली जनताहरूले बोकेका थिए । तर ६२–६३ आन्दोलनका अगुवा र ती राजनीतिक दलका नेताहरूको भ्रष्ट प्रवृत्तिको कारणले गर्दाखेरी नेपाली जनताको सपना अधुरो मात्रै रहेको होइन, भविष्य नै अन्धकारमय हुने खतरा देखियो । खासगरी कांग्रेस, एमाले र माओवादीजस्ता पार्टीहरूप्रति जनतामा तीव्र वितृष्णा भएर जनताले परिवर्तन खोजिरहका थिए ।’
थापाले हालसालै देशमा उठेको जेनजी आन्दोलनको सन्दर्भमा राप्रपा नेपालले खेलेको भूमिकाबारे पनि प्रस्ट पारे । ‘भ्रष्ट व्यवस्था र शासनविरुद्ध जनमत बटुल्न जेनजी आन्दोलनले महत्त्वपूर्ण भूमिका खेलेको छ र राप्रपा नेपाल मात्र यस्तो पार्टी हो, जसले सबैभन्दा पहिले यो आन्दोलनलाई खुलेर समर्थन र सघाएको हो,’ उनले भने ।




प्रतिक्रिया