भारतीय राजदूतको बिदाईले लज्जावोध भयो : कमल थापा

भारतीय राजदूतको बिदाईले लज्जावोध भयो : कमल थापा


काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले भारतीय राजदूतको बिदाई भेट देखेर लज्जाबोध भएको प्रतिक्रिया दिएका छन् । शनिबार सामाजिक सञ्जाल ट्वीटरमा एक ट्वीट गर्दै भारतीय राजदूत मञ्जित सिंह पुरीको बिदाईमा राष्ट्रपति र दलका नेताले सहभागी जनाएकोप्रति असन्तुष्ट व्यक्त गरेका हुन् ।

‘राजदूतहरु आउने जाने क्रम चलिरहन्छ । त्यो स्वभाविक हो,’ थापाले ट्वीटरमा लेखेका छन‍् ‘तर, अहिले भारतीय राजदूतको बिदाईको सन्दर्भमा राष्ट्रपतिदेखि विभिन्न दलका नेताहरुको अस्वभाविक व्यवहार देख्दा लज्जावोध हुन्छ ।’

उनले भेटलाई नेताहरुको राणाकालिन आत्मसमर्पणवादी मानसिकता बढेर गएको भन्दै कडा आलोचना गरेका छन् । ‘देशमा ठुलो परिवर्तन भयो, गणतन्त्र आयो भनिन्छ’ उनले व्यङ्ग्य गर्दै लेखेका छन् ‘तर नेताहरुको राणाकालिन आत्मसमर्पणवादी मानसिकता भने झन् बढेर गयो ।’

मंगलबार राजदूत पुरीले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी ओलीसँग बिदाई भेट गरेका थिए । त्यस्तै आफ्नो कार्यकाल सकिएर स्वदेश फर्कनुअघि राजदूत पुरीलाई कांग्रेस सभापति शेरबहादुर देउवाले मंगलबार बिदाइ भोज दिएका थिए।

पुरीलाई बुढानिलकण्ठस्थित आफ्नै निवासमा बोलाएर उनले भोजको आयोजना गरेका हुन् । भोजमा कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधि, महामन्त्री शशांक कोइराला, सहमहामन्त्री प्रकास शरण महत लगायत नेताहरु पनि सहभागी थिए ।