काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अब कहिल्यै पनि नफुट्ने गरी एकता भएको बताएका छन् । राप्रपा (संयुक्त) र राप्रपाबीचको एकतासभालाई सम्बोधन गर्दै थापाले पार्टी एकताबाट अपाmू एकदमै खुसी भएको बताएका छन् ।
‘अब कहिल्यै नफुट्नेगरी एकता भएका छौं,’ अध्यक्ष थापाले भने, ‘यो एकताबाट म खुसी छु ।’ उनले यसअघि ६ महिना नपुग्दै पार्टी कसले फुटायो भन्ने विषयमा अहिले चर्चा नगर्ने पनि बताए ।
उनले गीताको किताब हातमा लिएर पार्टी नफुटाउने प्रतिज्ञा गरे । ‘यो गीता हातमा राखेर कसम खान्छु राप्रपालाई फुट्न दिन्न’ उनले भने ।
विगतमा पटक पटक फुटेका कारण कार्यकर्ता र शुभचिन्तकले फेरि फुट्दैन भन्नेमा विश्वास मान्न नसक्नु सामान्य भए पनि थापाले नकारात्मक सोच त्याग्न आग्रह गरे ।
‘एकता हुन पाएको छैन फुट्छ कि भन्ने चिन्ता छाड्नुस्, यो नकारात्मक सोच राख्ने हो भने हामी सिथिल हुन्छौं । अब फुट्न दिन्नौं भनेर अघि बढ्नुपर्छ’ थापाले भने ।
पार्टीका अन्य दुई अध्यक्ष पशुपतिशम्शेर जबरा र डा. प्रकाशचन्द्र लोहनीले पनि पार्टी नफुटाउने प्रतीज्ञा गरिसकेको भन्दै थापाले आफू पनि पार्टी नफुटाउने बताए ।
अध्यक्ष थापाले यसअघि पार्टी फुटेको तीता मिठा घटनालाई बिर्सने पनि बताए । ‘विगतका तीता घटनाले पीडा भए पनि आगामी दिनमा कुनै पनि आग्रह पूर्वाग्रह साथीहरुका बीचमा राख्ने छैन’ उनले भने ।




प्रतिक्रिया