काठमाण्डु – राप्रपा नेपालका अध्यक्ष कमल थापाले स्थानीय तहको निर्वाचनमा नेकपा एमालेले धोका दिएको गुनासो गरेका छन् । सोमबार बसेको पार्टी केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा थापाले स्थानीय तहको चुनावमा आफूहरुसँग गरेको सहमति नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पालना नगरेको बताएका हुन् ।
आज बसेको बैठकमा उनले पेश गरेको राजनीतिक प्रतिवेदनमा एमालेको उदासीनताको कारण स्थानीयस्तरमा सहकार्य अपेक्षाकृत परिणाममुखी हुन नसकेको जनाइएको छ । त्यसैगरी थापाले स्थानीय तहको निर्वाचनको नतिजाबाट पाठ सिकेर संसदीय निर्वाचनको तयारी गर्नु पर्ने बताए ।
‘चुनावमा हामीले नेकपा एमालेसँग सहकार्य गर्ने निर्णय गर्यौँ । व्यवहारिक र रणनीतिकरुपमा ठीक भएता पनि नेकपा एमालेको उदासीनताका कारण स्थानीयस्तरमा सहकार्य अपेक्षाकृत परिणाममुखी हुन सकेन । यो चुनावमा प्राप्त अनुभवबाट पाठ सिकेर अब हामीले आगामी संसदीय निर्वाचनको तयारी गर्नुपर्छ ।’, थापाको प्रतिवेदनमा भनिएको छ । उनले चुनाव बहिष्कार गर्दा गलत सन्देश जाने भएकाले आफूहरु चुनावमा गएको दावी गरे ।
‘हामीले चुनावमा भाग नलिन पनि सक्थ्यौ तर, चुनाव बहिष्कार गर्दा गलत सन्देश जान्थ्यो । प्रजातन्त्र र जनसर्वोच्चताको सिद्धान्तमा विश्वास गर्ने पार्टी भएको तथा सुदृढ स्थानीय स्वायत्त शासनप्रणाली राप्रपा नेपालको मुख्य एजेण्डा भएको कारणले गर्दा सांकेतिकरुपमा भएपनि हामीले चुनावमा भाग लियौँ ।’




प्रतिक्रिया