काठमाण्डु – धनुषा र सिरहा जोड्ने कमला पुलको निर्माण तीव्र गतिमा हुँदैछ ।
हुलाकी राजमार्गअन्तर्गत सिरहा र धनुषाको सीमानामा पर्ने कमला नदीमा निर्माणाधीन बहुचर्चित कमला पुलको बाँकी काम भइरहेको हो ।
असार मसान्त भित्र काम सम्पन्न गरी पुलबाट आवत जावत सुरु गर्ने लक्ष्यसहित जोडतोडका साथ निर्माण कार्य भइरहेको छ ।
निर्माण व्यवसायीले नै पुलको डिजाइन गरी निर्माण गर्ने मोडलमा ठेक्का सम्झौता भएको कमला पुलको लम्बाइ ४६९ मिटर रहेको छ ।
जेनजी आन्दोलन पछि बनेको सरकारका मन्त्रीहरूले अनुगमन गरेदेखि पुल निर्माणको कार्यले तीव्रता पाएको छ । हुस्सु, कुहिरो र सितलहरीका बावजुद निर्माण स्थलमा कामदारहरु काम गर्दैछन् ।
तत्कालीन ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले गत ५ मंसिरमा स्थलगत अनुगमन गरी पुल निर्माण तथा पुनस्र्थापनाको काम तत्काल अघि बढाएर सम्पन्न गर्न निर्देशन दिएका थिए ।
ठेक्का सम्झौता भएको करिब १४ वर्ष पुग्दा पनि कमला पुल निर्माणले पूर्णता पाउन सकेको छैन । पुल नबन्दा स्थानीय बासिन्दा सवारीसाधनमा लामो रुट प्रयोग गरी आवत–जावत गर्न बाध्य छन् । स्थानीयलाई कमला नदी वारपार गर्न जोखिमपूर्ण र कष्ठकर यात्रा गर्नुपर्ने बाध्यता छ ।
१७ असार २०७८ मा कमला नदीमा आएको बाढीले पुलको दुईवटा जग भासिएर ४ वटा स्लावमा क्षति पुगेको थियो । क्षति पुगेका स्लावमध्ये सिराहातर्फ (पूर्व)को २ वटा स्लाव हटाइएको छ भने धनुषा पश्चिम पट्टिको २ वटा स्लाव हटाउन नपर्ने प्राविधिक अध्ययनबाट देखिएको छ ।
तराई–मधेशको लाइफ लाइनका रूपमा रहेको हुलाकी राजमार्गमा पर्ने कमला पुल निर्माणका लागि २०६८ को जेठमा २४ करोड ९१ लाख (भ्याटसहित)मा पप्पु लुम्बिनी जेभीसँग ठेक्कासम्झौता भएको थियो । सुरुको सम्झौता बमोजिम पुल निर्माण २०७१को मंसिरमा सम्पन्न हुनुपर्ने थियो ।
तोकिएको समयमा पुल निर्माण हुन नसकेपछि सातौं पटक थपिएको ठेक्का सम्झौताको म्याद गत असारमा सकिएको थियो ।
निर्माण व्यवसायीबाट आगामी असारसम्मका लागि म्याद थपका लागि प्रस्ताव पेश भएको छ । हाल ठेक्काको म्याद थपको प्रक्रियामा रहेको छ । हाल बाँकी काम लुम्बिनीले गरिरहेको छ । हालसम्म २० करोड ४३ लाख (भ्याट) सहित भुक्तानी भइसकेको छ ।















प्रतिक्रिया