काठमाण्डु – पछिल्लो दशक उनको जीबनमा उतारचढावपूर्ण रह्यो । भाइबहिनाको विहे भयो । उनलाई अन्माउने बुबाआमाको धोको त्यसै रह्यो । जागिर, बिहे, आयआर्जन आदिइत्यादि व्यक्तिक सवालका लागि सबैभन्दा बढी महत्वपूर्ण मानिने उमेरमा उनको सूर अर्कै रह्यो । धेरैका नजरमा यो बेसुर थियो । बेसुरै सही मनमा जे गडेको थियो उनी त्यसैमा दत्तचित्त भएर लागिन । फलतः कसैले नसोचेको स्याङ्जाको सर्केटारीस्थित कटुञ्जेस्वाँरामा कमला पराजुलीको नेतृत्वमा बालगृह स्थापना भएको मात्र छैन, ठाउठाउँका २० बालबालिकाको सुन्दर भविश्य निर्माण हुँदैछ ।
आफन्त उनका लागि केटा खोज्दै थिए । उनी भने ठाउँ ठाउँमा पुगेर असाह बालबालिकाबारे अध्ययन गर्दै थिइन् । आफन्त उनको घरजमका लागि योजना बनाउँदै थिए । उनी भने बालगृह सञ्चालनका लागि तयारी गर्दै थिइन् । अर्काको घर जानेबेला अर्काका केटाकेटी ल्याएर के गर्ने होली ? सबैजसोको चिन्ता मि।श्रित प्रश्नको उत्तर कमलाले कर्मबाट दिएकी छिन् । आफ्नै घरआँगनमा बालगृह खोलेर बुबाआमाका साथमा उनले विशाल परिवार खडा गरेकी छिन् । अविवाहित कमला ३० लाग्दा नलाग्दै ५ बर्षदेखि १५ बर्षका २० छोराछोरीकी आमा भएकी छिन् ।
अमोर सेवा नेपाल नामक बालगृृह सम्भवतः देशकै नमुना बालगृह हो जो मोफसलमा सञ्चालित छ । कमलालाई धेरैले सुझाब दिएका थिए– बालबालिकाको लफडामा नलाग, लाग्ने नै भए गाऊमा होइन शहर तिरै लाग । झर्री स्वभावकी टर्री कमला जवाफ फर्काउथिन–बालगृह चाहिने नै गाउँमा हो, दुःखी र असाहय गाऊँमा बढी छन् । कमलाका लागि नबिराउनु नडराउनु भन्ने उक्ति जीबन दर्शन बनेको छ । संस्थाले काम थालेसँगै सहयोगी मन पनि भेटिए, एनजिओवाली सम्झेर तर्साउने र लाभ लिन खोज्ने पनि हौसिए । उनी सहयोग र धम्कीको प्रस्ताव लिएर आउने दुबैथरीलाई एउटै जवाफ दिन्छिन– सकेको गर्नु !
कमलाको अठोट छ– केटाकेटीका कथा बेचेर कसैसँग हात नथाप्ने । समाजसेवा आफ्नो रहर भएकाले आश्रित बालबालिकाको कथा र व्यथा प्रयोग गर्नु उनी अनुचित ठान्छिन् । कमलाले केही यस्ता नियम बनाएकी छन् जुन अरु बालगृहमा सायदै लागू भएको होस् । उनी बालबालिकाका विगत केट्याउने र उनीहरुलाई सहानुभुतिका पात्रका रुपमा प्रस्तुत गर्ने प्रवृत्तिका बिरुद्ध उनी खरो उत्रिएकी छिन् । यदाकदा सहयोग बोकेर भाषणबाजहरु पनि आइपुग्छन् । उनीहरुले बोल्ने भाषा एउटै हुन्छ– यी असाहय बालबालिका, अभिभावक बिहीन…..। कमला बीचमै कड्किदिन्छिन् –कसरी असहाय ? कसरी अभिभावक विहीन । म आमा हुँ, मैले र मजस्ता धेरैले यिनीहरुको रेखदेख गरेका छौँ ।
कमला भन्छिन्–सहयोग नआए केही छैन तर मेरा छोराछोरी बिचरा होइनन् । नसकेको दिन राज्यलाई जिम्मा लगाउँला सकुन्जेल शीर ठाडो पार्ने गरि हुर्काउछु ।
कमलाका लागि स्वाभीमान सबैभन्दा ठूलो सम्पत्ति हो । आफ्ना सबै छोराछोरी स्वभाबीमानी हुन् र उनीहरुको स्वाभीमानमा ठेस नलागोस भन्नेमा कमला सचेत छिन् । उनले छोराछोरीका नाम पनि प्रतिकात्मक राखेकी छिन् । बेनामे कोही छोराछोरी आए उनी ओझपूर्ण नाम दिन्छिन् । खुशी, सहाश, स्वाभीमान यी र यस्तै नाम छन् उनका छोराछोरीका ।
‘के तपाई सहयोग लिनुहुन्न ?’ उनको शैली र स्वभाब देखिसके पछि धेरैले यही प्रश्न गर्छन । उनको जवाफ सरल छु– ‘सहयोग लिन्छु । सहयोगको पाइपाइ हिसाव राख्छु तर सहयोग लिन कै लागि बालबालिकाको कथा बेच्दिन । नसकेको दिन राज्यलाई सुम्पौला सकुन्जेल केटाकेटीको स्वाभीमानमा आँच आउन दिन्न ।’
कमलालाई बालगृह संचालनमा उनका बुबाआमाले मूलतः साथ दिएका छन् । पीर नगर छोरी, परि आए बारीको पाटो बेचम्ला भन्ने बुबाआमाको बचन उनका लागि अन्तिम सहाराकारुपमा सुरक्षित छ ।
दशैं खर्च कटाएर अमोरसेवालाई सहयोग
कमलाको बालगृहबारे चर्चा बाक्लिदो छ । पहिले सर्केटारीमा सीमित रहेको सो बालगृहको चर्चा देशबिदेशमा हुन थालेको छ । चर्चा बढेपनि सहयोगको अनुपात घटेको छ । कोरोनाका कारण जनजीबन ठप्पप्राय रहँदा कमलालाई दर्शै कसरी टार्ने भन्ने भइरहेको छ । यसै मेसोमा एक समुहले आपसमा सरसल्लाह गरी ७५ हजार रुपैयाँ अमोर सेवालाई सहयोग गरेको छ ।
बर्दियाका खिमनारायाण र टिकादेबी खनालले छोरी समानकी चेलीले संचालन गरेको बालगृहका लागि दशैंको दक्षिणास्वरुप ११ हजार ७ सय ६६ रुपैयाँ सहयोग गरेका छन् ।
भर्जिनियामा बस्दै आएकी गोरखाकी सम्झना न्यौपाने भन्छिन्, ‘हाम्लाई आफैँले पाएका २ छोरा हुर्काउन कति गाह्रो भयो, त्यो नानीलाई २० जना तर्तेन कति सकस होला ?’ राधेराधेकी अनुयायी न्यौपाने कमलाहरु बास्तबिक देबीको प्रतिक भएको बताउछिन्, ‘मैले ती नानीलाई देखेकी छैन तर ती नानीको हृदयमा देबी रहेको महशुश गर्न सक्छु ।’ उनले अमोर सेवाका लागि दर्शै खर्चस्वरुप ५ हजार ८ सय पच्चिस सहयोग गरेकी छिन् । पेशाले नर्स रहेकी दीपा सुवेदी क्यालिफोर्नियामा बस्छिन् । छोराछोरीसँग दूरी कायम गरेर अस्पतालमा खटिएको महिनौँ बितेको छ ।
बुबाआमाका लागि छोराछोरी र छोराछोरीका लागि बुबाआमा कति अभिन्न हुनेरैछ भन्ने कुरा कोरोनाका कारण झनै अनुभुति गरेको दिपाको भनाइ छ । आफ्ना बास्तबिक आमाबुबाको काख गुमाएका तर कमलाको काख र साथ पाएका बालबालिकाका लागि उनले पनि दशैँ खर्च कटाएर १२ हजार २ सय ३२ रुपैँया सहयोग गरेकी छिन् । न्ययोर्कमा रहेका नबिन शर्माले १४ हजार ९६ रुपैयाँ सहयोग गरेका छन् । अमोरसेवालाई भर्जिनिया निवासी रमा सापकोटा, मनिन्द्र जोशी, विष्णु शितल पौडेल, बिष्णु न्यौपाने, सुशील सोडारीलगायतले सहयोग गरेका हुन् ।
क्या बात कमला
कमलालाई २० छोराछोरीका आवश्यकता टार्न सहज छैन । तर उनी हरेश खाने स्वभावकी छैनन् । स्वच्छ मनले गरेको सेवामा कतै न कतैबाट भरथेक हुने उनमा आत्मबिश्वास छ । आत्मबिश्वासकै भरमा अलग्गै बाटो समाएकी कमलाको परिचय समाजसेबीका रुपमा स्थापित छ ।
दशैंमा आशिष दिँदा बुढापाकाले क्या बात भलानोकी छोरी भन्ने भए भन्ने गर्छन् । कमलाको हकमा सो आशिष लागू भएको छ । आफ्नो जोबन र जीबन असाय बालबालिका लागि अर्पण गर्ने क्या बात कमला !




प्रतिक्रिया