कञ्चनपुरमा १४ वर्षीया बालिकाले बच्चा जन्माइन्, घटना लुकाउन बुहारीको बच्चा बनाइयो


काठमाण्डु- कञ्चनपुरमा १४ वर्षीया बालिकाले बच्चा जन्माएकी छन् । बेलौरी नगरपालिका-८ को कलकत्तामा ३ माघमा बालिकाले बच्चा जन्माएकी हुन् । बेलौरी नगरपालिकाका उपप्रमुख जोगराम चौधरीले ती १४ वर्षीया बालिकाले शिशुलाई जन्म दिएको पुष्टि गरे । यस घटनाले बेलौरीमा नकरात्मक सन्देश गएको पनि उनको भनाई छ ।

काठमाण्डुपाटीसँगको कुराकानीमा उपप्रमुख चौधरीले भने, ‘बेलौरी नगरपालिका-८ को कलकत्ता भन्ने ठाउँमा यो घटना भएको हो । माघको ३ गते चाँही ती १४ वर्षीया बालिकाले बच्चा जन्माएकी हुन् । तर, घटना बाहिर ढीलो गरि आएको हो । स्थानीयबाट घटना थाहा पाएपछि म पनि त्यहाँ पुगेको थिए । म त्यहाँ पुगेपछि ति बालिकाका आमाबुवाले चाँही बच्चा छोरीको नभइ छोराको हो भनेर जिकिरसमेत गरे ।

तिनको घरमा चाँही एउटा छोरी र एउटा छोरा रहेछन् । छोराले बिहे गरिसकेकाले पाँच जनाको परिवार छ । त्यसकारण बच्चा छोरिको नभइ बुहारीको हो भन्ने दावी गर्नुभयो । तर, बुहारीको नभई बच्चा छाेरीको नै रहेछ । स्थानीय बासिन्दाहरुले पनि छोरिको नै भएको दावी गरिरहेका छन् ।’ ती बालिकाको आमा बुवाले नै घटना ढाकछोप गर्न खोजेको उनले दावी गरे ।

घटना लुकाउन ती १४ वर्षया बालिकालाई विद्यालयसमेत पठाउने गरेको उपप्रमुख चौधरीले बताए । ‘यो घटनालाई बालिकाका आमाबुवाले नै लुकाउन खोजिरहेका छन् । उनीहरुले घटना ढाकछोप गर्नको लागि बालिकालाई विद्यालयसमेत पठाउने गरेका रहेछन्।’, उनले भने

बालिकाले जन्म दिएको शिशु भारतीय नागरीकको हुनसक्ने उपप्रमुख चौधरीले आशंका व्यक्त गरे । आफूहरुको दबाबपछि बालिकाका आमाबुवा भारतीय नागरिकविरुद्ध किटानी जाहेरी दिएको उनले बताए । उनले भने, ‘गत वैशाखमा विवाह गर्ने भन्दै भारत भगाएर लैजाने क्रममा सीमा क्षेत्रबाट बालिकाको उद्धार गरिएको भन्ने खुलेको छ । ती भारतीय नागरिक नातामा उनका भिनाजु पर्छन ।, यो घटना लुकाउन प्रहरीले पनि चलखेल गरेको देखिन्छ ’

चौधरीले घटना ढाकछोप गर्न ती बालिकाका आमाबुवा र अन्य तिन जनाले पैसाको चलखेल गरिरहेका बताए । ‘यो घटना लुकाउन बालिकाका आमाबुवा र अन्य तिन जनाले पैसाको चलखेल पनि गरेको कुरा बाहिरिएको छ । जसअनुसार शिक्षक, बैँकर र  अन्य एकजनाले पैसाको चलखेल गरेर घटना ढाकछोप गर्ने खोजेको खुलेको छ ।’, उपमेयर चौधरीले भने ।

प्रतिक्रिया दिनुहोस
Advertisement