कञ्चनपुरको विकासमा निकुञ्जको बाधा ! यसरी गरिँदैछ ठाउँठाउँमा अवरोध

कञ्चनपुरको विकासमा निकुञ्जको बाधा ! यसरी गरिँदैछ ठाउँठाउँमा अवरोध

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

महेन्द्रनगर – सरकारी योजनामा परेको विकास–निर्माण कार्यमा सरकारी निकायकै अवरोध रहेको कुरा सुन्दा पत्यार लाग्दैन । तर कञ्चनपुरमा वर्षाैंदेखि यस्तै हुँदै आएको छ ।

सडक विस्तारदेखि शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज वरपर हुने हरेक विकास निर्माणका काममा निकुञ्जले अनेकन ऐन–कानून देखाएर अवरोध गर्दै आएको सरकारी तथा गैरसरकारी निकायले जनाएका छन् ।

निकुञ्जले बेलौरी–कलुवापुर र हुलाकी राजमार्ग अन्तर्गत दैजी–बेलडाँडी सडक खण्डमा अवरोध गर्दा सडक सुधारको वर्षाैंदेखिको योजना अलपत्र परेको छ । २०७३ सालमै ठेक्का भएको हुलाकी राजमार्गअन्तर्गत दैजी–बेलडाँडी सडक खण्डमा ६ महिनासम्म कामै गर्न नदिएको निकुञ्जले अहिले आधा सडक विस्तार भएपछि पनि अवरोध गरेको छ ।

हुलाकी राजमार्ग आयोजना कार्यालय धनगढीका सूचना अधिकारी इन्जिनीयर बर्खबहादुर कडायतले निकुञ्जले निर्माण कम्पनीलाई निकुञ्ज क्षेत्रमा काम गर्न अनुमति नदिएपछि गत वर्षदेखि काम रोकिएको जानकारी दिए ।

हुलाकी राजमार्ग आयोजना कार्यालय धनगढीका सूचना अधिकारी कठायतले आधा सडक विस्तार भएको अवस्थामा निकुञ्जले कालोपत्रे गर्ने बेला अनुमति नदिएर अवरोध गरेको बताए ।

‘हुलाकी सडक सडकको दैजी बेलडाँडी खण्डमा आधा काम भइसकेको छ, कालिकिचदेखि उत्तर झण्डै ७/८ किलोमिटर मात्रै कालोपत्रे गर्न बाँकी छ, बेस निर्माण भएको छ, ‘उनले भने, ‘अहिले आएर निकुञ्जले बाधा उत्पन्न गरेर सडक कालोपत्रे हुन सकेको छैन ।’

हुलाकी सडकमा हालसम्म निकुञ्जभित्रको खण्डमा आधा जति काम भइसकेको अवस्थामा अनुमति नदिनेदेखि अनेक बाधा उत्पन गराएको उनले बताए । निकुञ्जले नै जिल्लाको दक्षिणी क्षेत्र बेलौरी जोड्ने कलुवापुर–बेलौरी सडकखण्ड अन्तर्गत कालागौडीदेखि चान्देवसम्म समेत अवरोध गरेको छ । पूर्वाधार विकास कार्यालय कञ्चनपुरका इन्जिनीयर हेमराज भट्टले २०७७ सालमै निकुञ्जले आईईईको रिपोर्ट मागेर सडक कालोपत्रे गर्न नदिएको बताए ।

‘हामीले सडकखण्ड अन्तर्गत बेस निर्माण गरेका थियौं,’ इन्जिनीयर भट्टले भने, ‘कालोपत्रे गर्ने चरणमा पुग्दा निकुञ्ज आएर अवरोध गरिदियो ।’

बेलडाँडी गाउँपालिका–५ झिलमिलामा निर्माण भइरहेको छाडा पशु चौपाया व्यवस्थापन केन्द्रको निर्माण कार्यमा समेत निकुञ्जले बाधा उत्पन्न गरेको बेलडाँडी गाउँपालिकाले जनाएको छ । बेलडाँडी गाउँपालिकाका अध्यक्ष हरिशचन्द्र रानाले छाडा पशु चौपाया व्यवस्थापनका लागि अघि बढिरहेको काममा निकुञ्जले केही प्रक्रिया पुर्‍याउनका लागि भन्दै अवरोध गरेको बताए ।

वन्यजन्तुलाई देखाएर सडक स्तरोन्नति गर्न अवरोध गरेको निकुञ्जले हुलाकी र कलुवापुर बेलौरी सडक निर्माणमा अवरोध गरेको छ । सडक कच्ची नै रहेर धुलाम्मे हुँदा वन्यजन्तु र पर्यावरणमा नराम्रो असर परिरहेको बेलडाँडीका स्थानीय बताउँछन् ।

सडक सुधार नहुँदा दैनिक सवारी दुर्घटनादेखि यात्रु कष्टकर जीवन बिताउन बाध्य भएका छन् । कच्ची सडकका कारण बेलडाँडी गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत सवार म१झ १०२नम्बरको सरकारी जीप दुर्घटनामा परेको छ । कच्ची सडकमा रहेका खाल्टाखुल्टीले जीपको अगाडितर्फ दायाँ चक्का खुस्किएको छ ।

हिउँद र गर्मीमा धुलाम्मे र वर्षात्मा हिलाम्मे सडकमा नागरिकले ज्यान खोखिममा राखेर यात्रा गर्नुपर्ने बाध्य छ ।

२०५६ सालदेखि बन्द रहेको मझगाउँ विमानस्थल विस्तार तथा पुनःसञ्चालनको काममा समेत निकुञ्जले छलकपटको काम गरेको भन्दै मझगाउँ विमानस्थल पुनर्निर्माण समिति आन्दोलित भएको छ । मझगाउँ विमानस्थल पुनर्निर्माण समितिका अध्यक्ष रमेश चन्दले निकुञ्जले १ वर्षदेखि विमानस्थलको काम रोकेको बताए । ‘यो विकासको काममा निकुञ्ज प्रमुख बाधक बनेका छन्, निकुञ्जका कर्मचारीको दोहोरो चरित्रले नागरिक र सेनालाई विवादमा ल्याउने काम भएको छ,’ उनले भने, ‘निकुञ्जका कर्मचारी चोखा भए विकास निर्माणमा यस्तो नाटकीय बाधा हुँदैन ।’

पूर्व वन अधिकृत समेत रहेका संयोजक चन्दले निकुञ्जका कर्मचारीप्रति इङ्गित गर्दै कुनै विकास निर्माणको काममा घुस दिए काम गर्न दिने, नदिए अनेक ऐनका विषय अघि सारेर सरकारले जनताका लागि गर्ने विकास निर्माणका काममा बाधा उत्पन्न गर्ने गरिएको गुनासो पोखे ।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज कार्यालय जिल्लाको विकास निर्माणमा बाधक नबनेको दाबी गर्दै आएको छ । शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज कार्यालयका सूचना अधिकारी मनोज ऐरले हुलाकी राजमार्ग निर्माण कम्पनीले फेरि अस्थायी क्रसरका लागि अनुमति माग गरेकोमा दिन नसकेको तर निकुञ्ज भित्रको सडकमा कामकाज गर्न अनुमति दिएको बताए ।

‘यसअघि पनि हुलाकी सडक निर्माण कम्पनीले निकुञ्ज प्रवेशद्वार दैजी क्षेत्रमा लामो समय अस्थायी क्रसर राखेर काम गर्‍यो, फेरि अनुमति मागेको छ, यस विषयमा हामीले क्रसर अन्यत्र राखेर काम गर्न भनेकै छौं ।’