कञ्चनपुरमा गिद्धको संख्या बढ्दो

कञ्चनपुरमा गिद्धको संख्या बढ्दो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कञ्चनपुर – प्रकृतिको कुचिकारका रुपमा चिनिने अति संकटापन्न अबस्था रहेका गिद्धको संख्या बढ्दो अवस्थामा रहेको छ। स्थानीय बासिन्दामा गिद्ध जोगाउनु पर्ने जनचेतना बढेसंँगै गिद्धको संख्यामा बृद्धि हुन थालेको हो। बास स्थानको सुरक्षा हुन थालेपछि गिद्धले सहज रुपमा बस्ती नजिकैका क्षेत्रमा गुँड लगाएर बच्चा हुर्काउन थालेका छन्।

नेपाल पंछी संरक्षण संघका हिरुलाल चौधरीका अनुसार शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको तारापुर पोस्ट नजिकको क्षेत्रमा १२, हिरापुर फाँटामा ६ र निकुञ्जकै मध्यवर्ती क्षेत्र बन्साहामा ८ गुँड गिद्धले लगाएको पाईएको छ। गिद्ध सर्भेक्षणका क्रममा गिद्धका गुँडहरु पाइएका हुन्। सबैभन्दा बढी गिद्धले लालझाडी मोहना संरक्षण क्षेत्रको पर्सियामा २१ वटा गुँड लगाएका छन्।

उक्त संरक्षण क्षेत्रमा डंगर जातका गिद्धका दुई बच्चा बिरामी अबस्थामा फेला परेकाले उपचार भइरहेको उनले बताए। ‘जाडोयामका बेला गिद्ध बिरामी हुने क्रम देखिन्छ, विस्तारै निको हुने गरेका छन्’, उनले भने। हुर्किने क्रममा बच्चा उडन नसक्दा घाइते भइ बिरामीसमेत हुने गरेका छन्।

निकुञ्जको हिरापुर फाँटामा सानो खैरो गिद्ध मरेको अबस्थामा फेला परेको र निकुञ्जकै कालीकिच क्षेत्रमा बिरामी परेको गिद्ध निको भएर उडेको उनले बताए। मरेको गिद्धबारे अनुसन्धान भइरहेको उनले बताए।

संरक्षण संघले गरेको सर्भेक्षणमा कञ्चनपुरमा गत वर्ष ११९ गिद्ध फेला परेका थिए। यस वर्ष गिद्धको संख्यामा बढोत्तरीभै १५० देखि २०० को हाराहारीमा पुगेको हुन सक्ने चौधरीको भनाइ छ। विश्वमा गिद्धका २३ प्रजाती पाइने गरेपनि नेपालमा गिद्धका नौ प्रजाती मात्रै पाइने गरेका छन्। कञ्चनपुरमा डंगर, सानो खैरो, सुन गिद्ध, राज गिद्ध र हिमाली गिद्धलगायत सात प्रजातीका पाइने गरेका छन्। रासस