कञ्चनपुर- जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले राति १२ बजे घर बाहिर निस्कन प्रतिबन्ध लगाएको छ । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले कोरोना भाइरस संक्रमणको जोखिमलाई मध्यनजर गर्दै आइतबार राति ११ः५९ बजेपछि स्थानीयलाई बाहिर निस्कन प्रतिबन्ध लगाएको हो ।
जिल्ला प्रशासन कार्यालयमा आइतबार बसेको बैठकले सर्वसाधारण नागरिकलाई आकस्मिक उपचारबाहेक अन्य कामका लागि घरबाहिर ननिस्कन आह्वान समेत गरेको छ ।
यदि सूचनाको बर्खिलाप गरी घरबाहिर निस्किए सुरक्षाकर्मीले कानून बमोजिम कारबाही गर्न सक्ने प्रशासन कार्यालयले सूचना जारी गरेको छ ।
प्रशासनले आइतबार रातिदेखि खाद्यान्न, दूध, औषधि, पानी, पेट्रोलियम पदार्थ र उद्धार तथा राहतको काममा संलग्न यातायातबाहेक सबै प्रकारका पसल, ब्यवसाय, उद्योग, कलकारखाना बन्द गराउन पनि प्रशासनले आग्रह गरेको छ ।
प्रमुख जिल्ला अधिकारी नुरहरि खतिवडाले आइतबार रातिदेखि जिल्ला ‘लक डाउन’ हुने बताए । ‘शब्दमा उल्लेख गर्दा थप त्रास होला भनेर हो’ उनले भने,‘ यो कर्फ्युजस्तै हो । यसलाई लक डाउन भन्दा पनि हुन्छ ।’ आइतबार भीमदत्त नगरपालिका, जिल्ला प्रशासन कार्यालय र सुरक्षा अधिकारीहरूको बैठकले गड्डाचौकी नाका भने मंगलबार मात्र बन्द गर्ने निर्णय गरेको छ ।




प्रतिक्रिया