काठमाण्डु – सडक विस्तारका लागि कान्ति राजमार्ग ६० दिनसम्म बन्द हुने भएको छ । मंसिर २० गतेदेखि ६० दिनसम्म राजमार्ग बन्द हुने भएको हो ।
हेटौँडा–काठमाण्डु जोड्ने कान्ति राजमार्ग सडक योजना ललितपुरका अनुसार राजमार्ग स्तरोन्नतिका लागि भित्ता काट्ने काम भइरहेकाले सडक बन्द गरिएको हो ।
‘मंसिर २० गतेदेखि ६० दिनसम्म बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म सवारी आवागमन बन्द गर्न लागिएको हो’, कार्यालयका सूचना अधिकारी एवम् इन्जिनियर उपेन्द्र महरानले बताए ।
योजनाअन्तर्गत आवश्यक प्राविधिक काम छिटो तथा प्रभावकारी रूपमा सम्पन्न गर्न सडक बन्द गरिने प्रशासनले जनाएको छ ।
जिल्ला प्रशासन कार्यालय ललितपुरले पनि सूचना निकालेर कान्ति राजमार्ग बन्द हुने अवधिभर वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ ।
यस अवधिमा लोकपथ हुँदै यात्रा गर्ने गाडी तथा यात्रुलाई वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरिएको छ ।
यो सडकको विकल्पमा कुलेखानी–कलङ्की–हुमाने सडक, कुलेखानी–फाखेल–हुमाने–फर्पिङ सडक, कुलेखानी–सिस्नेरी–दक्षिणकाली (फर्पिङ) सडक प्रयोग गर्न सकिनेछ ।





प्रतिक्रिया