काठमाण्डु- प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको संसदीय सुनुवाइ बिहीबार हुने भएको छ । बुधबार उजुरीकर्ताहरुसँग भएको छलफलपछि बिहीबार बिहान ८ बजे बस्ने बैठकमा कर्कीलाई बोलाउने निणर्य भएको नेपाली कांग्रेसका मुख्य सचेतक रमेश लेखकले जानकारी दिए।
समितिको पछिल्लो बैठकको नेतृत्व गरेका ज्ञानेन्द्रबहादुर कार्कीले प्रधानन्यायाधीशमा प्रस्तावित कार्कीलाई आफ्ना कार्ययोजना प्रस्तुत गर्नका लागि बोलाउने निणर्य गरिएको जानकारी दिए। उनले सात जना उजुरीकर्ताहरूसँग उजुरीबारे एक्लाएक्लै र बाँकीसँग सामूहिक छलफल गरिएको बताए।
उजुरीकर्ताहरूको छलफलबीच भएको विवादका कारण अवरोध सिर्जना हुने भएपछि समितिले केही उजुरीकर्ताहरूसँग मात्रै छलफल गरेको थियो । बैठकमा उजुरीकर्तामध्येका वरिष्ठ अधिवक्ता ध्रुवलाल श्रेष्ठ‚ जिल्ला न्यायाधीश श्रीकृष्ण भट्टराई‚ अधिवक्ता अमृत खरेल‚ उजुरीकर्ता रतन भण्डारीलगायतले सुनुवाइ समितिको बैठक बहिस्कार गरेका थिए।
सुरुमा सामूहिक रुपमा बैठकमा सहभागी हुन पाउनुपर्ने माग राखेका उजुरीकर्ताहरूले पछि समितिको वैधतामाथि प्रश्न उठाएका थिए । कार्कीलाई आफ्नै ल फर्मका साझेदार अग्नि खरेलले न्यायाधीश बनाएको ती उजुरीकर्ताको आरोप छ ।
अर्का उजुरीकर्ताले कार्कीको नियुक्तिका लागि संवैधानिक परिषद्सम्बन्धी काम, कर्तव्य र ऐन रिक्त रहेको, त्यसविरुद्ध सर्वोच्चमा मुद्दा विचाराधीन रहेकाले उनको नियुक्ति नै कानुन अभावको अवस्थामा भएकाले सिफारिस खारेज गर्न माग गरेका छन् । उजुरीकर्ताहरूसँग कसरी छलफल गर्ने भन्ने विषयमा विवाद हुँदा उनीहरू बाहिरिएका थिए ।
आज बिहान २३ जना उजुरीकर्तालाई संसदीय सुनुवाइ समितिले छलफलका लागि बोलाएको थियो । सुनुवाइ समितिले उजुरीकर्ता प्रत्येकलाई १० मिनेट समय दिँदै गोप्य छलफल गरिरहँदा उजुरीकर्ताको एक समूहले भने समिति नै अवैध भन्दै विरोध जनाएका हुन् । सुनुवाइ समितिको जेठ १६ को बैठकले जेठ २६ भित्रको समय तोक्दै कार्कीविरुद्ध उजुरी आह्वान गरेको थियो ।




प्रतिक्रिया