काठमाण्डु- कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की आफैँले दिएको अभिव्यक्तिका कारण यतिबेला चौतर्फी विवादमा फसेका छन् । सोमबार सुन्दरहरैँचामा रहेको साजिलाल माविको वार्षिकोत्सवमा कार्कीले गरेको भाषण यतिबेला सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।
कार्कीले सयौँ विद्यार्थीका अगाडि उभिएर आफू लास्ट बेन्चर अहिले मुख्य मन्त्री भएको र सँगै पढेको फस्टबेन्चर खरदार भएको भन्दै व्यङ्ग्य गरेका छन् । ‘फस्ट बेन्चरले कलम चलाउने र आफ्नु भुडिभर्ने मात्रै जानेका छन् । तर, कक्षा कोठामा सबै अब्बल हुन्छन्, म लास्ट बेन्चर यतिबेला मुख्यमन्त्री छु ।’
सोही अभिव्यक्तिका कारण मुख्यमन्त्री कार्की विवादमा परेका हुन् । उनको भाषण सुन्ने कलिला बालबालिकाको दिमागमा के पस्यो होला ? अब नपढे पनि मुख्यमन्त्री भइनेरहेछ भन्ने भान किन पारेका होलान मुख्यमन्त्रीले ? प्रदेश मुख्यमन्त्रीबाट के सिक्ने विद्यार्थीले भन्दै मुख्यमन्त्री कार्कीको आलोचना भइरहेको छ ।
यसैबीच कर्मचारीहरूले पनि कार्कीको अभिव्यक्तिको विरोध गरेका छन् । नेपाल निजामती कर्मचारी सङ्गठनले विज्ञप्ति जारी गर्दै प्रदेश सरकारको मुख्यमन्त्रीको अभिव्यक्ति अपरिपक्व र हचुवा भएकोले सबै तहका राष्ट्रसेवक कर्मचारीको शिर निहुरिएको बताएका छन् ।
सङ्गठनका अध्यक्ष ओमराज सुवेदी र सचिव शालिग्राम कोइरालाद्वारा हस्ताक्षरित विज्ञप्तिमा एक शैक्षिक कार्यक्रममा दिएको अभिव्यक्तिले सिङ्गो राष्ट्रसेवक क्षेत्रलाई दुखित बनाएको उल्लेख गरेको छ ।
‘प्रतिस्पर्धामा श्रेष्ठता खोज्ने हामी तमाम राष्ट्रसेवकहरू हजारौँको प्रतिस्पर्धामा आफूलाई अब्बल र श्रेष्ठ साबित गर्न सफल भएर राष्ट्र सेवाका विभिन्न तहमा बसी नागरिकको सेवा प्रदान गरी आएका छौँ, विज्ञप्तिमा भनिएको छ, योग्यता प्रणालीमा विश्वास गर्नेहरू प्रतिको मुख्यमन्त्रीज्यूको कोरा अपरिपक्व हचुवा अभिव्यक्तिले सबै तहका राष्ट्रसेवकहरूको शिर निहुरिएको छ ।’





प्रतिक्रिया