सरकारका प्रवक्ता भन्छन्: जबरामाथिको महाभियोग निष्क्रिय भएको छैन

सरकारका प्रवक्ता भन्छन्: जबरामाथिको महाभियोग निष्क्रिय भएको छैन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चार मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरामाथिको महाभियोग निष्क्रिय नभएको बताएका छन् ।

बुधबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री कार्कीले जबरामाथिको महाभियोग जीवितै रहेको बताएका हुन् । अव बन्ने संसद्ले त्यसबारे निर्णय गर्ने उनको भनाइ छ ।

‘निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्धको महाभियोगमाथि छलफल भएर त्यो छलफलको प्रतिवेदन अर्को प्रतिनिधि सभामा छलफलका लागि पठाइएको हो । त्यसैले त्यो विषय जीवितै छ’, उनले भने । संसद् सचिवालयका महासचिव भरत गौतमले जबरामाथिको महाभियोग निष्प्रभावी भएको भन्दै क्लिन चिट दिएका थिए ।

आफूविरुद्ध दर्ता भएको महाअभियोग प्रस्ताव निष्प्रभावी भएको जानकारी पाउँ भन्दै जबराले दिएको निवेदनअनुसार संघीय संसद सचिवालयले पनि जबरासहित राष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, संवैधानिक परिषद्को कार्यालय, सर्वोच्च अदालत र न्याय परिषद्लाई पत्र दिएको जनाइएको छ ।

मंगलबार जबराले संघीय संसद सचिवालयमा निवेदन दिएका थिए भने सचिवालयले बुधबार महाअभियोग निष्प्रभावी भएको पत्र पठाएको हो ।गत १ फागुनमा उनीविरुद्ध ९८ जना सांसदले महाभियोगको प्रस्ताव दर्ता गराएका थिए।