काठमाण्डु- कोशी प्रदेश सरकारविरूद्धको रिट न्यायाधीशद्वय मनोज शर्मा र सारंगा सुवेदीको इजलासमा परेको छ ।
निवर्तमान मुख्यमन्त्री केदार कार्कीले सर्वोच्च अदालतमा दायर गरेको रिटको पेसी आज तोकिएको हो । उक्त रिटको पेसी दोस्रो नम्बरमा छ।
कार्कीले रिटमा मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई पदमुक्त गरी आफूलाई निरन्तरता दिन माग गरेका छन् । कार्कीले आफ्नो रिटमा पाँच तर्क पेस गरेका छन्, जसलाई टेकेर आफ्नो पुनर्स्थापना हुनुपर्ने भनिएको छ ।
कार्कीले २०८० भदौ २१ गतेको न्यायाधीशहरू सपना प्रधान मल्ल, कुमार चुँडाल र नहकुल सुवेदीको पूर्ण इजलासले गरेको फैसलालाई पनि आधार लिएका छन् ।
उनले उक्त फैसलाको बुँदा नम्बर २६ मा सरकार गठनका लागि पटक पटक एउटै धारा प्रयोग गर्न नमिल्ने भनिएकाले आफूलाई हटाएर पुनः उपधारा ५ कै सरकारको रूपमा शपथ गराउनु असंवैधानिक र उक्त आदेश विपरीत हुने तर्क गरेका छन् ।
गत वैशाख २६ गते केदार कार्कीलाई स्वतः पदमुक्त गर्दै प्रदेश प्रमुख पर्शुराम खापुङले २७ वैशाखमा हिक्मतलाई संविधानको धारा १६८ को उपधारा ५ अनुसार मुख्यमन्त्री नियुक्त गरेका थिए ।




प्रतिक्रिया