रेल्वे कम्पनीले करारमा कर्मचारी माग्दै, सरकारले दियो स्वीकृति

रेल्वे कम्पनीले करारमा कर्मचारी माग्दै, सरकारले दियो स्वीकृति


काठमाडौं – नेपालले जनकपुर–जयनगर रेल्वे सञ्चालनको लागि विदेशी कर्मचारी ल्याउने भएको छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्री एवं सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले बिहीबार सरकारको नियमित पत्रकार सम्मेलनमा नेपाल रेल्वे कम्पनीलाई रेल सञ्चालनको लागि विदेशी जनशक्ति नियुक्ति गर्न पाउने सैद्धान्तिक स्वीकृति दिएको बताएका हुन् ।

रेल सञ्चालन गर्न आवश्यक कर्मचारी नेपाली नागरिकबाट आपूर्ति हुन नसकेमा रेल्वे कम्पनीले २६ जनासम्म विदेशी जनशक्ति नियुक्त गर्न पाउने छ ।

सरकारले विभिन्न ४५ पदहरुको २२६ दरबन्दीमा औचित्य र आवश्यकताअनुसार प्रतिस्पर्धात्मक प्रक्रियाको माध्यमबाट नेपाल रेल्वे कम्पनीका लागि करारमा कर्मचारी भर्ना गर्न सैद्धान्तिक स्वीकृति दिएको हो ।

पुनः सञ्चालनमा आउन लागेको जनकपुर–जयनगर रेल्वे सेवाको लागि भारतबाट माघ महिनाभित्रै रेल नेपाल आइपुग्ने रेल विभागले जनाएको छ ।