कर्मचारी समायोजनका लागि सूचना सार्वजनिक

कर्मचारी समायोजनका लागि सूचना सार्वजनिक


काठमाडौं – सामान्य प्रशासन मन्त्रालयमा बुधबार दिउँसो पत्रकार सम्मेलन गर्दै सरकारले निजामती कर्मचारी समायोजनका लागि सूचना सार्वजनिक गरेको छ । समायोजनमा जाने कर्मचारीले अनलाइनमार्फत् फारम भर्नुपर्नेछ ।

देशभर १ लाख ३८ हजार १७८ दरबन्दी कायम गरिएको जानकारी दिइयो । नयाँ दरबन्दीअनुसार संघमा ४७ हजार ९२०, प्रदेशमा २२ हजार ७५५ र स्थानीय तहमा ६७ हजार ५०३ दरबन्दी रहने छन् ।

मन्त्रालयले २१ दिनभित्र अनलाइन फारम भर्न बाध्यकारी सूचना जारी गरेको छ । कर्मचारी समायोजन अध्यादेश २०७५ दफा ५ को उपदफा १ बमोजिम संघ, प्रदेश र स्थानीय तहमा समयोजन गर्न समायोजन डट जिओभी डट एनपीमार्फत् अनलाइन फारम भर्न सूचना जारी गरिएको हो । सूचनामा अध्यादेशअनुसार अनलाइन फारम नभर्ने कर्मचारीलाई जर्बजस्ती समायोजन प्रक्रियामा सामेल गराइने उल्लेख छ ।

‘यो सूचना बमोजिम समायोजनमा आवेदन नगरेमा वा समायोजनको निम्ति तोकिएका सबै प्रक्रिया पूरा नगरेमा वा छनौट गर्नुपर्ने तह छनौटसम्म नगरी आवेदन गरेमा सो कारणले मात्र संघ, प्रदेश वा स्थानीय तहमा समयोजन गर्न कर्मचारी समायोजन अध्यादेश २०७५ बमोजिम बाधा नपर्ने ब्यहोरा समेत यसै सूचनाद्वारा सूचित गरिन्छ’, सूचनामा भनिएको छ ।

अध्यादेशको विरोध गर्दै आएका कर्मचारीहरूले अध्यादेश विभेदकारी रहेको, निजामती सेवा ऐन २०४९ तथा नियमावली २०५० विपरित रहेको भन्दै समायोजन फारम अवज्ञा गर्ने बताउँदै आएका छन् ।