काठमाडौँ – निजामती कर्मचारीको अवकाशको उमेर हद अब ६० वर्ष पुर्याइने भएको छ । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले बिहीबार संघीय निजामती सेवासम्बन्धी विधेयक पारित गर्दै यसअघिको उमेर हदलाई दुई वर्ष बढाएको हो । सेवानिवृत्त कर्मचारीले सरकारको विरोध गरे पेन्सन रोक्ने प्रावधानलाई समेत समितिले एकमतले पारित गरेको छ ।
नेपालीको औसत आयु बढेको अवस्थामा उमेर हद बढाउँदा राज्यलाई पेन्सन भार कम हुने समितिको ठहर छ । सामान्य प्रशासन मन्त्रालयका सचिव यादव कोइरालाका अनुसार सबै सरकारी सेवामा एकरूपता ल्याउन उमेर हद बढाउन लागिएको हो । कर्मचारीको वृत्ति विकासमा असर पर्न र सरकारी सेवा प्रवेश अवरुद्ध हुन नदिन उमेर हदको प्रावधान पूर्ण रूपमा दुई वर्षपछि लागू गर्ने व्यवस्था विधेयकमा छ ।
उमेर हद बढाउने व्यवस्था सबै कर्मचारीलाई एकैपटक लागू हुनेछैन । विधेयकअनुसार २०१८ सालमा जन्मिएकाले ५८ वर्ष ६ महिना, २०१९ मा जन्मिएकाले ५९ वर्ष, २०२० मा जन्मिएकाले ५९ वर्ष ६ र २०२१ सालमा जन्मिएका कर्मचारीले ६० वर्ष पुगेपछि अवकाश पाउनेछन् । सचिव कोइरालाका अनुसार २०२२ साल वा त्यसयता जन्मिएका सबैको उमेर हद ६० वर्ष हुनेछ ।यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।




प्रतिक्रिया