काठमाण्डु – प्रस्तावित संघीय निजामती सेवा ऐनको विरोधमा सिंहदरबारभित्र प्रर्दशनमा उत्रिएका चार जना कर्मचारी पक्राउ परेका छन् । बिहीबार बिहान सिंहदरबारमा आन्दोलनमा उत्रिएका चार जना कर्मचारी पक्राउ परेका हुन् ।
उनीहरुले प्रहरीले शान्तिपूर्ण प्रर्दशनमा हस्तक्षेप गरेको भन्दै विरोध जनाएका छन् । राजपत्र अनंकित कर्मचारी संरक्षण अभियानको अगुवाइमा कर्मचारीहरुले प्रदर्शनमा उत्रिएका थिए ।
कर्मचारीहरुले ऐनमा राखिएका कतिपय प्रावधानले कर्मचारीहरुको वृद्धि विकासमा मार्ग अवरुद्ध हुने भएकाले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अगाडि प्रदर्शन गरेका थिए ।
उनीहरुले निजामती सेवामा प्रवेश गरिसकेका कर्मचारीलाई निजामती सेवाको पदपूर्ति हुने कुनै पनि परीक्षामा भाग लिन उमेर हद नलाग्ने र कुनै पनि निजामती कर्मचारीले खुल्ला प्रतिस्पर्धाबाट लोकसेवा आयोगको परीक्षा उत्तीर्ण गरेमा अघिल्लो पदको सेवा अवधिसमेत जोड्न पाउने विद्यमान निजामती सेवा ऐन, २०४९ को व्यवस्था कायम हुनुपर्ने जस्ता माग राखेका छन् ।
ऐनमा निजामती सेवामा बहाल रहेका कर्मचारीहरुले अर्को तहमा खुल्ला प्रतिस्पर्धाबाट पास गरेमा त्यसको सेवा अवधि गणना नगर्ने, उमेर हद र विभिन्न श्रेणीमा आन्तरिक प्रतिस्पर्धा नै गर्न नपाउने जस्ता व्यवस्था गरिएको छ ।
निजामती कर्मचारी सेवासम्बन्धी विधेयक संसदमा पेश गरिएको छ । यसअघि उपसचिव र सहसचिवका रिक्तमध्ये आन्तरिक प्रतिस्पर्धाबाट २०–२० प्रतिशत पदपूर्ति हुँदै आएकामा संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवा–सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा यो व्यवस्था हटाउन सिफारिस गरिएको हो ।




प्रतिक्रिया