काठमाण्डु- विशेष अदालतले ललितपुरको कर्मनाशा खोलाको जग्गा अतिक्रमण गर्नेहरुविरुद्ध फेरि अनुसन्धान गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगका नाममा निर्देशनात्मक आदेश जारी गरेको छ ।
विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, सदस्यहरु तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले अपुरो अभियोगपत्र दायर गरेको भन्दै ललितपुरको कर्मनासा खोलाको नक्सा ट्रेस बदल्ने काममा संलग्नहरुमाथि अनुसन्धान गर्न र उनीहरु संलग्न रहेको देखिए मुद्दा चलाउन आदेश दिएको हो । विशेष अदालतले युरो हाउजिङ प्रा.लि.ले भवन बनाउने क्रममा खोला किनारको ५ रोपनी ९ आना जग्गा मिचिएको ठहर गरेको छ।
त्यस्तै त्यसमा संलग्न भएको भन्दै उसले गुनीकाजी मानन्धर, योगेश्वरकृष्ण पराजुली, कृष्णराज श्रेष्ठ, टंकबहादुर श्रेष्ठ, गोपालदास मानन्धर, बबिब मानन्धर र उज्ज्वल मानन्धरलाई दोषी ठहर गरेको छ ।
‘अभियोगपत्रको पृष्ठ ४७ मा नापी कार्यालय, ललितपुरबाट जग्गा बढ कायम गर्ने निर्णयमा कर्मचारीहरु संलग्न भएको देखिएको भन्ने उल्लेख भएको, तर सो निर्णयमा जिम्मेवार संलग्न पदाधिकारी र व्यक्तिहरुका हकमा समेत पुन अनुसन्धान गरी आवश्यक कारवाही गर्नु भनी निर्देशनात्मक आदेश जारी गरिदिएको छ ।’, कर्मनासा खोलाको जग्गा अतिक्रमणसम्बन्धी मुद्दाको फैसलाका क्रममा विशेष अदालतले भनेको छ ।




प्रतिक्रिया