काठमाण्डु – नेपाली कांग्रेसको १४ औँ महाधिवेशन मंसिर २४ देखि २६ गते सम्म काठमाण्डुमा हुँदैछ । महाधिवेशन नजिकिँदै जाँदा पार्टी सभापति शेरबहादुर देउवाको गृह जिल्लाको क्रियाशील सदस्यता विवादले भने झनै उग्ररुप लिएको छ ।
निर्वाचन समितिले त्यहाँको वडा अधिवेशनलाई मान्यता दिएपनि संस्थापन इतरपक्षले उक्त अधिवेशनलाई नमान्ने बताएको छ । नेपाली कांग्रेसका डडेल्धुरा जिल्ला सभापति कर्ण मल्लसहितको टोलीले पुनः वडा अधिवेशन गर्ने माग राख्दै पार्टी कार्यालय सानेपामा अनशन जारी राखेको छ ।
हाल नेपाली कांग्रेस १४ औँ प्रदेश महाधिवेशनमा होमिएका बेला देउवाकै गृहजिल्लाका जिल्ला सभापति मल्ललगायत कार्यकर्ताहरुले माग पुरा नभए आमरण अनशन बस्ने चेतावनी दिएका छन् । आफूहरूले अधिवेशन रोक्न सभापति देउवालाई लिखितरुपमै जानकारी दिँदा समेत कुनै सुनुवाइ नभएको उनीहरुको गुनासो छ ।
त्यसैगरी सत्ता र बलको प्रयोगमा देउवाले आफुहरुमाथि दमन गरेको समेत जिल्ला सभापति मल्लको आरोप छ । यसो त उनीहरु यो भन्दा अघिपनि अनशनमा बसेका थिए । तर, केन्द्रिय नेताहरुको आश्वासन पछि अनशन तोड्न बाध्य भएका थिए । हाल देउवाकै गृहजिल्लामा एउटा नेतृत्व चयन गर्न झडप नै हुने अवस्था आउनुमा सभापति देउवाको दोष की इतर पक्षको कमजोरी ? प्रस्तुत छ यी नै विषयमा केन्द्रित रहेर काठमाण्डुपाटीका लागि टक बहादुर खातीले गरेको कुराकानीको सम्पादित अंशः
नेपाली कांग्रेस १४ औँ महाधिवेशनमा होमिएको छ । वडा अधिवेशन पनि सम्पन्न भइसकेका छन् । प्रदेश अधिवेशन हुँदैछ तर कांग्रेस सभापति शेरबहादुर देउवाकै गृहजिल्लामा क्रियाशील सदस्यता विवाद हालसम्म पनि टुंगिएको छैन् । तपाईंहरू पार्टी कार्यालय सानेपामा अनशनमा हुनुहुन्छ । यसको मुख्य कारण के हो ?
यसको मुख्य कारण भनेको क्रियाशील सदस्यता विवाद छँदै जिल्ला कार्य समितिको बहुमत जिल्ला कार्यसमितिले गरेको निर्णयलाई अवाज्ञा गरि निर्वाचन अधिकृतको आडमा सुरक्षा बल प्रयोग गरि नेतृत्व चयन गरियो ।
७६ वटै जिल्लामा एक ढंगबाट भइरहेको छ तर त्यसको विपरित नेपाली कांग्रेसको विधान, परम्परा, संस्कार र निर्वाचन निर्देशिकाकै खिलाफमा वडा अधिवेशनका प्रक्रियाहरु जुन डडेल्धुरा जिल्लामा लागु भएका हुँदा यसलाई हामीले केन्द्रिय नेतृत्व, सभापतिजीलाई पटकपटक लिखितरूपमा अनुरोध गर्दा र ११ दिन डडेल्धुराको पार्टी कार्यालयमा अनशन बस्दाखेरि पनि हजारौँ डडेल्धुरावासीहरुले पनि यो कुरा गलत हो यसलाई सच्याइनु पर्छ भनेर प्रर्दशनमा उत्रिदाँ पनि एक पक्षिय ढंगले गुटगत र पार्टीको मान्यता विपरित अधिवेशनका प्रक्रियाहरु अगाडी बढाइयो ।
जुन नेतालाई हामीले प्रिय आर्दश मानेउ, जसलाई हामीले १० औँ महाधिवेशनदेखि १३ औँसम्म पार्टी सभापति बनाउन सिंगो जिल्ला एकजुट भयो । हाम्रो बलमा जुन नेता पाचौँ पटक प्रधानमन्त्री बन्न सफल हुनु भयो त्यसकारण हामी उहाँका कार्यकर्ता न्याय माग्नको लागि पार्टी कार्यालयमा अनशन बस्न बाध्य भएका हौँ ।
डडेल्धुरा जिल्लामा यस्ता दृश्य देखिनुलाई सभापति देउवाले एक पक्षीय रुपले पेलेर नै गएको भन्ने कि ! यसमा तपाईँहरुको पनि असहयोग, असमझदारी, सम्वादहिनतालाई पनि कारक मान्ने ?
मलाई जहाँ सम्म लाग्छ हामी पार्टीको नीति नियम, मान मर्यादा विपरित अझसम्म लागेका छैनौँ । जहाँसम्म यो क्रियाशील सदस्यताको विवाद छ यसमा पनि हामी कुनै पनि ठाउँमा चुकेका छैनौँ । हाल यी घटनाक्रमहरु भइरहेका छन् । डडेल्धुरा जिल्लामा कुन ढंगबाट अधिवेशन गरियो त्यसको भिडियो फुटेज हामीसँग छ । त्यो दृश्य देखेर तपाईको मन पनि पक्कै छुनेछ ।
पाँच जना मान्छे क्रियाशील सदस्यता उपस्थित गरि २५ जना प्रहरीको घेरामा अधिवेशन गराइरहेको दृश्यले बताउँछ देउवाज्यूले डडेल्धुरामा हामीलाई कति अभिभावकत्ब, माया प्रेम दिनुभएको छ । अथवा हामीमाथि दमन गरिराख्नु भएको छ । हामी उहाँको दमन गरेको प्रमाण खुलेआम देखाउन तयार छौँ । शक्तिको आडमा यती सम्म दमन राणा शासनमा पनि हुँदैन थियाे ।
त्यसो भए तपाईँहरुमाथि सभापति देउवाले दमन गरेरै अगाडी बढ्नु भएकै हो ?
तपाईँले मन छुने प्रश्न गर्नुभयो । उहाँले हामीमाथि दमन नै गरेको छ । गुटगत अर्थात शक्तिकाे बलमा उहाँले हामीमाथि अन्याय गर्नु भएको छ । उहाँले आजका दिन सम्म गरेका अत्याचारहरुको प्रमाणले नै बताउँछ । सभापतिज्यूले हामीलाई कति पेल्नु भएको छ ।
देउवाले आफु पक्षीय क्रियाशील सदस्यता बढाउनेलगायतका क्रियाकलापले सभापति देउवा गृहजिल्लामै कमजोर देखिएकै स्थिति आएकै हो ?
हामी सिंगै डडेल्धुरावासीहरु उहाँकै पक्षमा छौं । अब उहाँले किन गर्नुभयो त्यो मलाई पनि थाहा छैन् । डडेल्धुराबाहेक ७६ वटै जिल्लामा वडाअधिवेशनमा पार्टीको विधिगत ढंगबाट नेतृत्व चयन गरियो । अनि क्रियाशील सदस्यता छनोटमा पनि पार्टीको मानमर्दन गरियो । तर, उहाँले आफ्नै गृहजिल्लामा किन यस्तो चलखेल गुर्नभयो । हामीलाई पनि थाहा छैन् । उहाँले आफ्नो बल प्रयोग गरेर हामीमाथि ठुलो दमन गर्नु भएको छ ।
देउवाकै गृहजिल्लामा क्रियाशील सदस्यतामा यत्रो विवाद चर्कियो । तपाईँहरुले लिखितरूपमा ध्यानार्कषण गराउँदासमेत सभापति देउवाले चासो देखाउनु भएन । अब तपाईँहरुको यो सानेपाको धर्नाले देउवाको मन पग्लियला त ?
अझै पनि हामी ठुलो आशामा बसेका छौँ । उहाँ हाम्रो अभिभावक हो । मैले राजनीतिमा लागेको ३२ बर्ष भो, हामी जति अनशनमा आएका छौँ । उहाँबाट प्रभावित भएर आएका छौँ । ७५ वर्ष उमेर भएकासमेत यो अनशनमा सहभागी छन् । हेर्नुहोस त हामीलाई कति ठुलो पीडा होला । अन्य जिल्लामा नेपाली कांग्रेसका कार्यकर्ता धुमधामका खुसियालीका साथ अधिवेशनमा लागेका छन् । त्यो देख्दा हामीले मनै थाम्न सक्दैँनौ । उहाँले किन यस्तो गरिराख्नु भएको छ । हाम्रा मागलाई किन वेवास्ता गरिराख्नु भएको छ । कति ठुलो दुःख बोकेर हामी केन्द्रसम्म पुग्यौँ । त्यो दुःखको बारेमा हामीलाई मात्र थाहा छ । त्यसकारण पुनः निवार्चन हुनुपर्छ ।
निर्वाचन समितिले मान्यता दिइसकेको छ । तपाईंहरु भने फेरि निर्वाचन हुनुपर्यो भन्दै हुनुहुन्छ । यसलाई हामीले कसरी हेर्ने ?
मलाई अचम्म लागेको कुरा पनि यही त हो । यो निर्वाचन क्षेत्रले जसरी डडेल्धुरा जिल्लामा अधिवेशन गराइराखेको छ । यो ढंगबाट नेपाल अधिराज्यमा नेपाली कांग्रेसको अधिवेशन हालसम्म भएको छैन् । १४ औँ महाधिवेशनको पूर्वसन्ध्यामा कुनै पनि वडा, गाउँपालिका, प्रदेश र कुनै पनि जिल्लाको निर्वाचन त्यहाँका सभापति र कार्यसमितिको सहमतिमा गरिएको छैन् । पार्टीको विधानसंग के डडेल्धुरामा गरिएको चलखेल मेल खान्छ ? त्यसकारण यसमा निर्वाचन समितिको पनि त्रुटि छ ।
एकातिर कांग्रेस देशकै सबैभन्दा शक्तिशाली पार्टी र लोकतान्त्रिक पार्टी भन्दै हिँड्नु भएको छ । अर्कोतिर एउटा नेतृत्व चयन गर्न हात हालाहाल गरिराख्नु भएको छ । यसले आम जनताहरुमा कस्तो सन्देश गइरहेको होला ?
यसले आम जनताहरुमो नकारात्मक सन्देश पक्कै पनि गएको छ । लोकतान्त्रिक पार्टी भनेर जनतामा लोकप्रिय बनाइएको पार्टी हो । तर, के गर्ने दमन नै भएपछि हामी पनि अन्यायको विरुद्धमा उत्रिएका हौं । यसले गर्दा कांगेस पार्टीमा ठुलो असरसमेत परेको छ । हामी आफ्नो न्यायको आशमा बसेका छौँ ।
तपाईँहरुको अनशन जारी छ । अब प्रदेश तहको पनि अधिबेशन हुँदैछ । यदि संस्थापन पक्षलाई योे धर्नाले पनि छोएन भने तपाईँहरुको आगामी रणनीति के हुनेछ ?
हामी अनशनमै हुन्छौँ । यो बाहेक अन्य विकल्प पनि सोच्नुपर्छ । यदि माग पुरा भएन भने हामी आमरण अनशन बस्न बाध्य हुनेछौँ । यदि सभापति ज्युकै गृहजिल्लाका कार्यकर्ता अनशनमा हुँदाहुँदै प्रदेश तहको अधिेशन भयो भने त्यहा कस्तो अधिवेशन होला ? शक्तिको आडमा गरिएका निर्णय हामीलाई कुनै पनि हालतमा स्वीर्काय छैन् । त्यसकारण हामी अन्याय विरुद्ध जहिले पनि उठ्ने छौँ ।




प्रतिक्रिया