सरकार टिकाउन हामी कुनै शक्तिको प्रयोग गर्दैनौं : कर्ण थापा [अन्तर्वार्ता]


सर्वोच्च अदालतको गत फागुन २३ गतेको फैसलाले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) खारेज गरेर नेकपा एमाले र माओवादी केन्द्रलाई ब्यूँताएपछि दुवै पार्टीहरु आ–आफ्नो ढंगले अगाडि बढ्ने आँकल गरिएको थियो । तर, पछिल्लो समय नेकपा एमालेभित्रको विवादले भने नयाँ रुप लिएको छ । एमालेभित्र माधव नेपाल समूहले पार्टीभित्र छुट्टै पहिचान खोज्न थालेपछि विवादले नयाँ रुप लिएको हो । प्रधानमन्त्री केपी शर्मा अ‍ोलीले फागुन २८ मा पार्टीको कमिटी बैठक राखेर केन्द्रिय समितिमा पुर्व माओवादीका २३ जना नेतालाई केन्द्रिय सदस्यमा नियुक्त गर्ने निर्णय गरे ।

प्रधानमन्त्रीले त्यतिमात्र हैन नेपाल निकटका नेताहरुले पाइरहेको जिम्मेवारी खोसेर आफू निकट नेताहरुलाई जिम्मेवारी दिएको भन्दै नेपाल समूह असन्तुष्ट बनिरहेको छ । नेपाल समूहले प्रधानमन्त्री केपी शर्मा ओलीले एमालेभित्र एकलौटी निर्णय गर्न थालेको भन्दै राष्ट्रिय कार्याकर्ता भेलाको आयोजना गरेपछि पार्टी विभाजन हुन सक्ने विश्लेषण हुन थालेको छ । एमालेभित्र पछिल्लो समय देखिएको विवाद र समाधानको उपायलगायतका विषयमा केन्द्रीत रहेर काठमाण्डुपाटीका उप–सम्पादक निशेष खनालले नेकपा एमालेका नेता कर्णबहादुर थापासँग गरेको कुराकानीको सम्पादित अंशः

तत्कालिन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) हुँदै चर्किएको विवादले एमालेमा आइसक्दा झन् नयाँ रुप लियो । यसलाई कसरी लिनु भएको छ ?

-सर्वोच्चको फागुन २३ को फैसलाले नेकपाको विवाद टुंग्याएर पूर्वनेकपा एमाले र माओवादी केन्द्रमा त लग्यो । त्यो भनेको त कानूनी,संवैधानिक ढंगले हेरेर गरिएको फैसला हो । सर्वोच्चको फैसलाले समाधान दिँदैन थियो । पृष्ठभूमिमा नेकपा जुन उदेश्यका साथ बनेको थियो । त्यो उदेश्यअनुरुप पनि काम भएको थिएन । व्यक्ति केन्द्रीत,स्वार्थ केन्द्रीत र आफ्ना निजी चाहनालाई केन्द्रबिन्दुमा राखेर बहस गर्ने काम भयो । नेकपा स्थापनाको उद्देश्य सहि थियो तर, त्यो एकतालाई कायम हुने दिइएन ।

सुखी नेपाली समृद्ध नेपाल बनाउनका निम्ति कम्युनिष्ट आन्दोलन एकताबद्ध हुनुपर्छ । एकताबद्ध कम्युनिष्ट आन्दोलनले मात्रै त्यो अधिभारालाई पूरा गर्न सकिन्छ भन्ने मान्यता थियो । त्यो मान्यता अनुरुप अगाडि बढेन । त्यो नभएपछि त्यो एकतालाई टुटाउने, सफल हुन नदिने जुन प्रवृति र पात्रहरु थिए । त्यो प्रवृति र पात्रहरु नेकपा एमालेका थिए । माधव नेपालहरुले सञ्चालन गरेको गुटले एकतालाई सफल हुन नदिन लागेका थिए । तिनिहरुको चिन्तनमा पनि परिवर्तन छैन् । पात्रहरु पनि उही हुन् । फूट विभाजनको नेपालको कम्युनिष्ट आन्दोलनलाई त्यसको विगतलाई हेर्दा २०५४ सालमा नेकपा एमाले विभाजन गरिएको थियो । त्यो विभाजन गर्ने बेलामा पनि यिनै चिन्तन, यिनै प्रवृति र अधिकांश यी नै पात्रहरु थिए ।

प्रधानमन्त्री केपी शर्मा अ‍ोलीले पार्टीमा नेपाल पक्षलाई पेलेर एकलौटी ढंगले निर्णय र नियुक्ती गरेको त सत्य हो नि ?

-यो सत्यताको पछाडि कारण छ । त्यो कारण उहाँहरुले फागुन २८ गतेको केन्द्रीय कमिटी बैठकका निर्णयहरुलाई भन्न खोज्नु भएको होला । फागुन २३ गते सर्वोच्च अदालतले फैसला गर्यो । त्यसबीचमा उहाँहरुका गतिविधि पार्टीलाई अगाडि बढाउनका निम्ति आफ्नो योग्यता, क्षमता, अनुभव र आफूले प्राप्त गरेको ओहोदा समर्थनलाई प्राप्त गर्ने भन्दा पनि नेकपा एमालेभित्र गएर भाँडभैलो सिर्जना गर्ने र जसरी हुन्छ एकताबद्ध नेकपा एमाले हुन नदिने उदेश्य र सल्लाहका साथ प्रचण्ड कमरेड र उहाँहरुबीच अन्तिम बैठक भयो त्यो बैठकको सार नै त्यही निकालिएको रहेछ भन्ने सार्वजनिक भयो ।

उहाँहरु अर्याल होटलमा गएर गुटको बैठक गर्नुभयो – अब एमाले भित्र गएर लड्ने । एमालेभित्र केपी ओलीको निरंकुशता र तानाशाहका विरुद्धमा लड्ने भनेपछि नेतृत्व मान्ने पार्टीका नीति मान्ने कुरा गर्नुभएन । त्यो नगरी अब लड्ने भनेपछि उही फेरि नेकपा एमलोलाई एउटा अराजकतातर्फ लैजाने,कार्यकर्ता पंक्तिमा निराशा सिर्जना गराउने र पार्टीको समर्थक,शुभेच्छुक र मतदाताहरुलाई निराश तुल्याउने गतिविधिमा उहाँहरु लाग्नुभयो भन्ने भएपछि केन्द्रीय कमिटीको बैठक बसेर यो प्रवृतिलाई कमजोर तुल्याउनुपर्छ । यसलाई नेकपा एमालेभित्र हावी हुन दिनुहुँदैन भन्ने हामीलाई लागेको हो ।

यसको मतलब तपाईहरुको रणनीति नेपाल समूहलाई एमालेबाट बाहिर पठाउने हो ?

-हामीले आउटै गरेर जाने रणनीति बनाएनौं । उहाँहरुले नेकपा एमालेलाई एक हुन नदिन कसमै खानु भएको छ नि । यदी उहाँहरुको भूमिका, माधव नेपाल र उहाँको गुटको भूमिका सकारात्मक भएको भए एमाले र माओवादी केन्द्रबीच भएको एकता सफल हुन्थ्यो । त्यो पार्टी नै विभाजन हुँदैन थियो ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजन गर्नमा माधव नेपाल समूहको हात छ भन्न खोज्नुभएको हो ? अहिले एमालेमा विग्रह ल्याउन पनि उहाँहरुको मूख्य भूमिका छ हो ?

-पहिलेदेखी नै नेकपा एमाले मात्रै हुँदा पनि ९ औं राष्ट्रिय महाधिवेशनपछि माधव नेपालको कुण्ठा, स्वार्थ, आत्मकेन्द्रीत सोच, गुटगत मान्यता लगातार जारी थियो । त्यसबीचमै माअ‍ोवादी केन्द्रसँग पार्टी एकता भयो । त्यसपछि केही समयसम्म उहाँले बोल्ने ठाँउ रहेन । चुप लाग्नुभयो । ओली र प्रचण्डकाबीचमा टक्कर सिर्जना गराएर त्यसपछि उहाँको पूर्वएमालेभित्रै गुटगत मान्यता थियो त्यसलाई निन्तर अगाडि बढाउने वातावरण पाउनुभयो र त्यसको मौका प्रचण्डले दिनुभयो ।

माधव नेपालको विगत र वर्तमानलाई हेर्यो भने कार्यकर्ता र जनताबाट निर्वाचित भएर नेता हुने होइन् । स्वस्थ प्रतिष्पर्धाबाट नेतृत्वमा आउने होइन कि उहाँ एउटा कोटरीबाट नेता बन्ने,एउटा समूहलाई प्रभावित पारेर आफ्नै वरिपरिका मान्छेहरुबाट नै नेता बन्ने इतिहास उहांको छ। उहाँ प्रमुख नेताका रुपमा आउँदा एउटा घटना मदन भण्डारीको दुःखद् निधन भयो ।

त्यो संकटको घडीमा अब कसलाई नेतृत्व हस्तान्तरण गर्ने भन्दा माधव नेपाललाई नै अगाडि सारियो । त्यसको केही समयसम्म उहाँले ठिकै ढंगले काम गर्नुभयो । त्यसपछिका गतिविधि हेर्दा मनमोहन अधिकारीलाई प्रधानमन्त्री मान्न पनि उहाँ इच्छुक हुनुहुन्न थियो । वामदेव गौतमलाई उपमहासचिव बनाउने कुरामा पनि उहाँको निजी स्वार्थको कुरा थियो । यो गलत किसिमको कुरा उहाँले किन मान्नुभयो भने आफू सरकारमा सामेल हुनुपर्ने थियो ।

आफ्नो स्वार्थपूर्ति हुने भएपछि उहाँ जतिसुकै अप्रिय निर्णय पनि गर्ने र त्यो अप्रिय निर्णय गर्नका निम्ति एउटा कमिटीभित्रको बहुमत हिजो उहाँसँग थियो । उहाँले १५ वर्षसम्म पार्टीलाई एकलौटी ढंगले चलाउनुभयो । त्यो भनेको त छैटौं महाधिवेशनका बीचमा आउँदा पनि उहाँ अफ्ठ्यारो अवस्थामा आइसक्नुभएको थियो । त्यसपछि विभाजित भएको मालेसँग आफ्नो कुर्सी जोगाउन गलत उदेश्यका निम्ति त्यो बेला एकता भएको थियो ।

एकतापछि सातौं राष्ट्रिय महाधिवेशनमा उहाँलाई जनकपुरमा मालेबाट आएका सबैले समर्थन गरेर उहाँ सहज ढंगले नेता बन्नुभयो । ४३ जनाको केन्द्रीय कमिटीमा उहाँसँग ३७ जना मान्छे हुनुहुन्थ्यो । भनेपछि जे चाहंनुहुन्थ्यो त्यो परिस्थिति उहाँसँग थियो । तर, उहाँसँग राजनीतिक विचार, दार्शनिक सैद्धान्तिक हिसाबले त्यो थिएन । त्यसपछि नेकपा एमालेको लगातार ओरालो यात्रा सुरु भयो । २०६४ सालमा भएको निर्वाचनमा हाम्रो १० लाख मत घट्यो । सिटसंख्या पनि ६९ बाट घटेर ३९ मा आयो । त्यसपछि उहाँले महासचिव पद छोड्नुभयो । आफू असफल भएपछि उहाँले छोडेको पदलाई पुनरावृतिका निम्ति धेरै प्रयास गर्नुभयो ।

आठौं महाधिवेशनको अगाडि झलनाथलाई अगाडि सार्नुभयो । आठौं महाधिवेशनमा केपी ओलीलाई जित्न नदिने गरी खेल पनि खेल्नुभयो । त्यसपछि उहाँको प्रमुख नेता बन्ने हुटहुटी सँधैभरी रहिराख्यो । प्रमुख नेताको हैसियतमा राजनीतिक, दार्शनिक हिसाबले उहाँ कहिल्यै पनि अगाडि बढ्नुभएन । नवौं मआधिवेशनको मुखमा केही साथीहरुले उहाँलाई ल्याएर अध्यक्षको उम्मेद्वार बनाए ।

जबकी उहाँको कुनै किसिमको तयारी पनि थिएन । एउटा अहिले नेपाली राजनीतिलाई अगाडि लैजानुपर्ने हिसाबले के देखेको छु भने आठौ महाधिवेशनको बीचमा एमालेभित्र निकै ठूलो गुटबन्दीको स्थिति थियो । शीरदेखि तिरसम्म ठूलो टकरावको स्थिति थियो । अहिले मिडियाले योगेश भट्टराई र घनश्याम भुसाललगायतका मान्छेहरुलाई नेता बनाइदिएका छन् ।

त्यसो भए योगेश भट्टराई र घनश्याम भुसाल लगायतका नेताहरुको नेकपा एमालेमा कुनै योगदान छैन् ?

-उहाँहरुको पार्टीभित्र योगदान त छँदैछैन त म भन्दिन । जति छ त्यो भन्दा बढी उचालिनुभएको छ । जति योगदान छ भएभन्दा बढी प्रचार छ । किनकीे आठौं महाधिवेशनको बेलामा उहाँहरुले नेता मानेको मान्छे झलनाथ खनाल । माधव नेपाल त नेता नै होईन उहांले भन्नुहुन्थ्यो । त्यसपछि हामीले अबको नेता केपी शर्मा ओली हो भनेर उहाँहरु सहमत हुनुभयो । ७० सालको निर्वाचन भन्दा अगाडि केपी कमरेडको तर्फबाट गणेश तिमल्सिना, खगराज अधिकारी म र देवी ज्ञवाली चार जना यताबाट घनश्याम भुसाल , विजय पौडेल र प्रकाश ज्वालासहित अन्य नेता भएर दुई महिनाजती आन्तरिक हिसाबले छलफल गरेर एकता गरिएको थियो ।

त्यसो भए माधव नेपालले नेतृत्व गर्दा भन्दा केपी ओली आउँदा एमालेले के पायो त ?
-केपी ओली आएपछि त नेकपा एमालेको त पहिचान नै बदलियो नि । त्यो भन्दा अगाडि नेकपा एमालेको नेतृत्व गर्ने झलनाथ वा माधव नेपालको बेला होस् नेकपा एमालेको लिंग छुट्याउनुपर्छ भन्ने थियो । यसको विशेषता, पहिचान र भिन्नता भएन भन्ने परिस्थितिमा पुगेको थियो । तर, केपी ओली एमालेको अध्यक्ष बनेपछि नेपालको राजनीतिमा नेकपा एमाले स्पष्ट वैचारिक राजनीतिक धरातलमा उभियो । पार्टीले लगातार प्रगती उन्नती गर्दै गयो ।

७० सालको निर्वाचनमा ठूलै पार्टीको उपस्थितिको रुपमा स्थान ग्रहण गर्यो र संविधान निर्माण गर्न सबैभन्दा निर्णायक भूमिका खेल्यो । केपी ओली आउनुभएको थिएन भने नेपालको संविधान बन्ने थिएन । नेपालको संविधान २०६४ सालमा असफल भएको थियो केपी ओलीजस्तो अडान भएको नेता नभएका कारणले पनि असफल भएको थियो । र पछिल्लो पटक लोकतान्त्रिक संविधान बन्यो । उक्त समय जातिय क्षेत्रिय, साम्प्रदायिक त्यो प्रकारको राजनीतिक माहोल थियो ।

संघीयता पनि जातका आधारमा गर्ने । धर्म संस्कृति यस्तै चिजलाई आधार मानेर गर्नुपर्छ भन्ने थियो । त्यो चिजलाई इन्कार गरेर नेपाली जनताको भावना बमोजिम देशलाई जातिय, धार्मिक द्वन्द्वमा लैजाने परिस्थितिलाई केपी ओलीले रोक्नुभयो । र संविधान जारी भयो । त्यसपछि नेपाल कम्युनिष्ट पार्टी निर्माण गर्नुभयो । नेपाली राजनीतिमा कम्युनिष्ट पार्टीमा शीखरतर्फको यात्रा छ यसमा केपी शर्मा ओलीको निर्णायक भूमिका रहेको छ ।

पछिल्ला गतिविधिले नेपालका कम्युनिष्ट पार्टी विनाशतर्फ जाँदैछ कि शिखरको यात्रामा छ ?

-त्यस्तो हुनेगरी बीचमा व्यवहारहरु भए । केही पंक्तीमा त्यस्ता प्रकारका आशंका उब्जिएको छैन त म भन्दिनँ । तर, म आत्मविश्वासका साथ भन्छु – नेपाल कम्युनिष्ट पार्टी एमाले अहिले जुन ठाउँमा छ आगामी दिनमा जुन ढंगले अगाडि बढ्दैछ । यो बीचको लडाईँ र झगडा गरिरहेको कम्युनिष्ट पार्टी पनि यो रहँदैन । यो अनुशासित र सुविचारित रुपमा अघि बढेको कम्युनिष्ट पार्टीको रुपमा हामी शीखरतर्फ अगाडि जान्छौं । यसको अधोगती चाँही हुँदैन ।

त्यसो भए माधव नेपाल समूहलाई एमालेमा कसरी मिलाएर राख्नुहुन्छ ?

-अब नेपालको कम्युनिष्ट आन्दोलन नयाँ शीराबाट अगाडि बढाउनुपर्ने भयो । वि.सं २००६ सालमा कम्युनिष्ट पार्टीको स्थापना भएको थियो । नेपालको कम्युनिष्ट आन्दोलनको ७१ वर्षको अनुभवी कम्युनिष्ट पार्टी बन्यो । स्थापना कालबाट नै गुटगत मान्यताहरु अगाडि बढे । जालझेल गर्ने, षड्यन्त्र गर्ने, नेतृत्वलाई सफल हुन नदिने, घेराबन्दी गर्ने, निजी स्वार्थ पूरा गर्न झुटको खेती गर्ने र निजी स्वार्थ पुरा भएन भने कम्युनिष्ट पार्टीलाई फुटको बाटोमा लैजाने इतिहास हामीसँग छ ।

अब हामी यस्तो प्रकारको कम्युनिष्ट पार्टी होइन । निजी स्वार्थका लागि भएका पहिलेदेखी चल्दै आएका गतिविधि अन्त्य गर्छौं । त्यो अन्त्य अराजकता र स्वार्थमा हिँड्नेलाई कारबाही गर्ने र पार्टीबाट निष्काशन गर्ने । नत्र भने कम्युनिष्ट पार्टी अगाडि बढ्दैन ।

यसको मतलब माधव नेपाल समूह अव नेकपा एमालेमा रहँदैन ?

-धेरै सम्भावना मैले देखेको छु । उहाँहरुका गतिविधि, सोच र अभिव्यक्तिबाट उहाँहरु नेकपा एमालेमा रहने सम्भावना कम छ । उहाँहरुले मूल नेता नमान्ने बताइसक्नु भएको छ। उहाँहरुको एउटै ध्याउन्न के थियो भने एमालको आधिकारिक व्यक्ति बन्ने । चुनाव चिन्ह, पार्टीको सम्पती र पार्टी कब्जा गरेर केपी अ‍ोलीलाई निष्काशन गर्ने ।

केपी ओलीको नेतृत्व, नीति मान्ने, विचार मान्नेलाई पार्टीबाट खेदनेमा उहाँहरुको मूख्य ध्याउन्न थियो । त्यसमा उहाँहरु सफल हुन सक्नुभएन । एउटै पार्टीमा हुनका निम्ति न्यूनतम पनि तीन वटा कुरा चाहिन्छ । नेतृत्व, नीति र विधान मान्नुपर्छ । तर, उहाँहरुकेही पनि मान्नुहुन्न । जनताको बहुदलीय जनबादका मूल मर्मलाई नमान्ने र अहिलेको चलाउँदै गरेका विधानलाई नमान्ने भनेपछि त उहाँहरु यो पार्टीमा रहने सम्भावना मैले देखेको छैन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले फागुन २८ गते नेपाल समूहलाई थाहै नदिई किन केन्द्रीय कमिटीको बैठक बोलाएर विभिन्न निर्णयहरु गर्नुभएको थियो ? त्यो गुटको बैठक होइन ?

-संस्थापनलाई गुट भन्यो भने पार्टी नै रहँदैन । उहाँहरुलाई समेट्नुभन्दा अगाडि नै नेपाल समूहले गुटगत गतिविधि गरिहाल्नुभयो त । अर्याल होटलमा गएर अलग्गै गुटको भेला गरेर पार्टीसँग लड्ने, पार्टीको नेतालाई असफल, कमजोर तुल्याउने, अब हामी त्यहीभित्र गएर बबण्डर गर्छौं भनेपछि अब उहाँहरुको नियत ठिक छैन् भन्ने भएर केन्द्रीय कमिटीको बैठक बस्यो । केन्द्रीय कमिटीको बैठकमा उहाँहरु आउनुभएन । उहाँहरु नआएपछि निर्णय त गर्नुपर्यो । उहाँहरुलाई बोलाउनुभएन भन्न सजिलो छ तर, हामीले बोलाएका थियौं ।

प्रधानमन्त्रीले भन्नुभयो–उहाँहरुले दल विभाजनको लागी विधेयक ल्याउन निवेदन दिनुभयो भने म ल्याइदिन्छु । उहाँले माधव नेपाललाई पार्टी फुटाउन सहज हुनेगरी मार्ग प्रशस्त गर्न लाग्नुभएको हो ?

-उहाँले उदारतापूर्वक यो कुरा गर्नुभयो । पहिले प्रचार त कतिसम्म गरियो भने त्यो बेलामा मधेशवादी पार्टीको मागमा ल्याइएको अध्यादेशलाई केपी ओलीले पार्टी फुटाउँदैछन्,आफूलाई पार्टी फुटाउन सजिलो हुन्छ भनेर हल्ला पनि गरियो । उहाँले एमालेभित्र लडाईं झगडा गर्नुभन्दा यो पार्टीमा बस्न मन छैन् ।

नीति, नेतृत्व र विधान नमान्नेमा उहाँहरु पुगिसक्नुभएको छ । माअ‍ोवादीमा सोझै जाँदा कोही पनि मान्छे जाँदैनन् । त्यसकारण निकास चाहिएको छ भने उहाँहरुको सांसद पद जोगाइदिनका लागि ठिकै छ नि त सांसद पद लिएरै जानुहोला म निकास दिन्छु भनेको कुरा धेरै उदारतापूर्वक भनिएको हो । त्यो निकास उहाँहरुलाई दिए हुन्छ ।

वामदेव गौतमले पार्टी एकता अभियान चलाइरहनु भएको छ । फेरी नेपालका कम्युनिष्ट घटकहरु मिलेर जाने सम्भावना कति छ ?
-उहाँले गर्नुभएको काम दुनियाँलाई मूर्ख बनाउने हाँस्यास्पद काम हो । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बनाइएको थियो त्यो पार्टीको एकता भंग गराउने र पार्टीभित्र विवाद सिर्जना गराउने मूख्य मान्छे नै वामदेव गौतम हो । तर, उहाँले पूर्वएमाले र माओवादी केन्द्रबीच एकता गर्न लाग्नुभयो त्यो राम्रो पक्ष हो । उहाँ पार्टीको सिनिएर नेता हुनुहुन्थ्यो त्यहि भएर त्यतिवेला उहांले जिम्मेवारी पाउनुभयो । तर, त्यो एकतालाई भाँड्ने काम उहाँले नै गर्नुभयो ।

नेकपा एमाले अव कसरी अगाडि बढ्छ ?

-हामीलाई नेपाली जनताको एउटा अभिभारा छ । समृद्ध नेपाल सुखी नेपाली, जनता, राष्ट्र र नेकपा एमालेको संकल्प हो । नेपाली जनताले त्यो पूरा गर भनेर हामीलाई जुन समर्थन दिनुभयो । त्यो अभिभारा पूरा गर्नका लागि अब हामीले समाजवादका आधारहरु निर्माण गर्ने भनेका छौं । समाजवादका आधारहरु निर्माण गर्नका निम्ति हामी बहस चलाउँछौं । सैद्धान्तिक, दार्शनिक रुपमा पार्टीका पंक्तीलाई प्रशिक्षित गर्छौं ।

त्यस्तै नेपालको आर्थिक, सामाजिक, शैक्षिक, न्याय प्रणाली समाजवाद उन्मुख देश बनाउने भनेपछि त्यसअनुरुप हुँदैन । त्यसमा हामीले समिक्षा विश्लेषण गर्छौं । त्यसका लागि एउटा बहस चलाउँछौं । जसमा नेपालका सबै राजनीतिक दलका मान्छेहरुसँग खुला आह्वान गर्छौं । र प्रोफेसर बुद्धिजिवी, डाक्टरलगायतका मानिसहरुलाई यो राष्ट्रिय बहसमा तपाईहरु सहभागी हुनुस् र देश बनाउका लागि हामी नयाँ खाका तयार गरौं भन्छौं ।

त्यसो नगरे मान्छे स्वार्थका निम्ति दिनदिनै कुदिरहेका छन् । त्यसले दिनदिनै झगडा, मैले पद पाइनँ , मेरोले पाएन जस्ता विषयमा अल्मल्याइरहेको स्थिति छ । यसबाट हामीले मुक्त गराउने गरी सैद्धान्तिक, राजनीतिक र दार्शनिक जगमा देशलाई अगाडि बढाउने दिशामा जान्छौं ।

सरकार आफ्नो पार्टीभित्र र अन्य राजनीतिक दलको घेराबन्दीमा परेको छ । अब कसरी अगाडि बढ्नुहुन्छ ?

-सबैभन्दा पहिलो हामी संसदलाई चलाईरहन र टिकाइरहनका निम्ति विकृति विसंगतीको थलो बनाउन लाग्दैनौं । विगतमा पनि यस्ता हर्कतहरु भएका छन् । २०५२ साल भदौ १२ गते पुनःस्थापित भएको प्रतिनिधिसभाले त्यसको अनुभव हामीलाई के छ भने नेपालको राजनीतिलाई विकृतिको थलो बनाउने मुख्य परिघटना त्यही हो । त्यसले १० वर्षे जनयुद्ध सुरु गरायो । २०५२ सालमा मध्यावधी निर्वाचन भएको भए नेपालको राजनीतिले अर्कै कोर्ष लिन्थ्यो ।

तत्कालिन नेकपा एमालेको बहुमतको सरकार बन्थ्यो र नेपालका यी कुनै पनि परिदृश्यहरु आउने थिएनन् । त्यो परिघटनाले नेपालको लोकतन्त्र नै समाप्त भयो । राजा ज्ञानेन्द्रले शासन सत्ता हातमा लिनुभयो । यो विगितको तितो अनुभव हामीसँग छ । अब हामी त्यो बेला भएको कुरा आफ्नो सरकार जोगाउनका लागि एमाले पनि आफ्ना ठाउँमा उभिन सकेन । नेपाली कांग्रेस पनि आफ्ना मूल्य मान्यतामा उभिन सकेन जसका कारण तत्कालै हटाइएका पञ्चायती व्यवस्थाका मुख्य पात्रहरु लोकेन्द्र बहादुर चन्दलाई एमालेले र नेपाली कांग्रेसले बोकेर सूर्यबहादुर थापालाई बोकेर प्रधानमन्त्री बनायो ।

जबकी उनीहरुको सिट संख्य अत्यन्त थोरै थियो । एकअर्काको इष्र्या, डाहा र प्रतिशोधको भावनाले लोकतान्त्रिक शक्तिहरु एक ठाउँमा हुन सकेनन् । त्यसको परिणाम प्रतिक्रियावादी र पुर्नउत्थानवादी भनिएकाहरुलाई नै मुख्य नेता बनाउनुपर्ने परिस्थिति बन्यो । यो परिदृश्यलाई हामीले बिर्सिएका छैनौं । त्यसकारण अब नेपाली जनताले प्रधानमन्त्री केपी शर्मा ओलीलाई म्याण्डेड दिएको हुनाले अरुले हामीलाई समर्थन गर्छन भने ओलीको नेतृत्व अगाडि बढ्छ ।

अरु सबै राजनीतिक दलहरु मिलेर सरकार बनाउँछन् भने पनि कसैलाई आफ्ना पक्षमा पार्नका निम्ति हुने नहुने काम गर्नेमा हामी छैनौं । यो पुनस्थापित प्रतिनिधिसभामा हुनसक्ने जति पनि विकृति छन् त्यसलाई रोक्न हामी लाग्छौं । तर, स्थिति के छ भने तपाईले भनेजस्तो प्रतिनिधिसभामा शक्ति सन्तुलनको स्थिति छ । त्यो गणित हेर्दा केपी ओलीले नेतृत्व गरेको नेकपा एमाले नै गर्ने भयो ।

हामीसँग जति संख्या रहन्छ त्यो संख्या अरु सबै दल मिल्दा पनि बहुमतको सरकार नबन्ने परिदृश्य बनेको छ । यो संसदीय खेलको मूख्य मियो र प्रमुख खेलाडी नेकपा एमाले हो । त्यसको नेता केपी शर्मा ओली हुनुहुन्छ । माधव नेपाल बाहिरिए पनि करिब एक सय सांसद हामीसँग रहने गणित आइसक्यो । अरु समर्थन गर्न बाध्य किन हुन्छन् भने यदी संविधानको धारा ७६ (२) अनुसार दुई वा दुई भन्दा बढी दलको सरकार बनेन भने त्यसले विश्वासको मत लिन सकेन भने त्यसपछि ७६(३)को सरकार बन्छ । ७६ (३)को सरकार भनेको ठूलो पार्टीको सरकार हो ।

ठूलो पार्टी त नेकपा एमाले नै हुनेभयो । ठूलो पार्टीलाई एक महिनाभित्र समर्थन दिएन भने संसदमा अर्को व्यक्तिले म बहुमत प्राप्त गर्न सक्छु भन्ने आधार छैन् । त्यो आधार नभएपछि स्वतः मध्यावधी निर्वाचन हुने हो । यदी त्यो निर्वाचनलाई रोक्न चाहंन्छन् भने बाध्य भएर केपी शर्मा ओली नेतृत्वको सरकारलाई समर्थन दिनुपर्छ । त्यसरी समर्थन दिएनन भने हामी अर्लि इलेक्शनमा जान्छौं ।

संसद पुनःस्थापना भएपछि सदनका नियमित कामकारबाही सुचारु ढंगले अगाडि बढेका छैनन् । सरकारले नै सभामुखको कार्यशैलीमाथि प्रश्न उठाइरहको छ । अब सरकार कसरी अगाडि बढछ ?

-सभामुखले सभामुखको ओहोदा, दायित्व र जिम्मेवारी छ त्यो पूरा गरिरहनु भएको छैन् । सभामुखलाई हटाउँदा त्यसको प्रक्रिया फरक छ । बहुमतले हटाउन मिल्दैन महाअभियोग लगाउनुपर्छ । महाअभियोग लगाउन दुई तिहाईको आवश्यकता पर्छ । दुई तिहाईको संख्या कसैसँग पुग्दैन । तर, महाअभियोग लगाएपछि महाअभियोग सफल नभए पनि एक खालको धब्बा त लाग्छ । त्यसकारण उहाँले म सभामुखको कुर्सीमा छु यो सांझा हो ।

म पार्टी विहीन र पार्टीको सदस्यता समेत नभएको व्यक्तिले मैले निष्पक्षतापूर्वक काम गर्नुपर्छ । मेरो दायित्व जे हो त्यो काम इमान्दारितापूर्वक गर्छु भन्नुपर्छ । नभए उहाँको अपमान हुने खतरा छ । हामी अहिले महाअभियोग लगाउने निष्कर्षमा पुगेका छैनौं । तर, परिस्थिति त्यता जान सक्छ । नयाँ घटनाक्रमले के प्रमाणित गर्दैछ भने नयाँ जनादेशका लागि प्रधानमन्त्रीले गरेको सिफारिस सही रहेछ भनेर सबै मानिसहरुले घटना क्रम र व्यवहारबाट बुझ्न थालेका छन् । किनकी अहिलेको यो संसद प्रभावकारी हुने स्थिति देखिएको छैन् ।

अन्तमा केही भन्न चाहनुहुन्छ की ?

-संवैधानिक व्यवस्थाअनुसार धारा ७६ को उपधारा १ देखि ७ सम्म सबैलाई प्रयोग गरेर जानुपर्छ भन्ने प्रकारको अहिले सर्वोच्चको व्याख्या आयो । तर, यसले सबै जाँदा पनि धारा ७६ को उपधारा ३ भन्दा उता जाने परिस्थिति मैले देखेको छैन् । त्यो भनेको ठूलो पार्टीको सरकार बन्ने हो ठूलो पार्टी नेकपा एमाले छ । र अरु पार्टीहरु मिलेर नयाँ सरकार बनाउने सम्भावना पनि कम छ । फेरी पनि भन्छु– हामी सरकार जोगाउन वा टिकाउनका लागि कुनै पनि किसिमको छलकपट, जालझेल या कुनै शक्तिको प्रयोग त्यो चाँही हामी गर्दैनौं । हामीले सबै पक्षलाई छलफल खुला छ भनेका छौं ।

माओवादी केन्द्रसँग त तत्काल नहोला । समर्थन फिर्ता लिनु भएको छैन् । बाध्यताको परिस्थिति छ । किनकी अहिले उहांहरुले अविश्वासको प्रस्ताव पनि ल्याइहाल्नुहुन्न । त्यो सफल हुँदैन पनि । असफल भएपछि फेरी एक वर्षसम्म अविश्वासको प्रस्ताव ल्याउन मिल्दैन । त्यसकारण बाध्य भएर मान्नुपर्यो । यत्रो परिघटनाको उपलब्धी के हो भनेर जनताले तिरस्कार गर्ने भए । उहाँहरु अफ्ठयारोमा हुनुहुन्छ ।

पछिल्लो समय जुन राजनीतिक परिदृश्य र संसदमा जोडघटाउ छ त्यसले नेकपा एमाले सुरक्षित र सही ठाउँमा छ भन्ने देखाउंछ । जनताले आरोप लगाउने ठाउँ पनि छैन् । केपी शर्मा ओलीले देशको विकासका निम्ति महत्वपूर्ण ढंगले काम गर्दैहुनुहुन्थ्यो । सरकार र पार्टी एकतालाई अगाडि बढ्न नदिने खेलमा माधव नेपालहरु हुनुहुँदो रहेछ भन्ने पनि सिद्ध भयो । उहाँहरु एकअर्कालाई धोका दिनुहुँदो रहेछ भन्ने पनि प्रमाणित भएको छ ।

जनतालाई सूचित गर्नैपर्ने के छ भने– यसबीचमा दुईवटा प्रवृति देखा परेका छन् । एउटा पद र शक्तिका लागि जे पनि गर्ने र अर्को पद ओहदा होइन मूल्य मान्यताका निम्ति आफ्ना भएका पदहरु प्नि छोड्ने । हिजो दुईवटा खेमाबाट आएका नेकपा एमालेका माधव, झलनाथ, भीम रावलगायतका नेताहरुलाई एक ठाउँमा राखेर र अर्को ठाउँमा रामबहादुर थापा बादल, लेखराज भट्ट, मणि थापा, टोपबहादुर रायमाझीलगायतकालाई एक ठाउँमा राखेर हेर्ने हो भने टोपबहादुरहरुले त आफ्नो मूल्य र मान्यताका निम्ति हाम्रो पद गए पनि केपी ओलीले लिनुभएको अडानमा समर्थन छ माओवादीमा हामी जाँदैनौं भन्नुभयो नि ।

निहु खोजाहा र झगडालू प्रवृति, वितण्डावादी सोच भएको झुण्डको नेतृत्व त माधव नेपालले गर्नुभएको रहेछ । बादलहरुले प्रचण्डलाई दुःख दिन जानुभएको त छैन् नि अहिले तपाईको पार्टीभित्र छु मलाई त्यो पद चाहियो भन्नुभएको छैन् नि । तर, यहाँ त केपी ओलीप्रति विश्वास पनि नगर्ने, ओलीको मान पनि नगर्ने अपमान र लखेट्न मन पनि छ । अनि त्यही भित्र आएर भद्रगोल पनि गर्ने भनेपछि यो राजनीतिक सोच होइन यो वितण्डावादी ध्वंश र अराजकतावादी सोचको नेतृत्व माधव नेपालले गर्नुभएको छ भन्ने कुरा अहिलेको घटनाबाट पुष्टि भयो ।

प्रतिक्रिया दिनुहोस