सुर्खेत — नेपाली कांग्रेस संसदीय दलले कर्णली प्रदे सरकारमा सहभागी हुने आफ्ना सांसदको नाम टुंगो लगाएको छ ।
संसदीय दलको शनिबार बसेको बैठकले सामाजिक विकास मन्त्रीमा यज्ञबहादुर विसी र जलस्रोत तथा उर्जा विकास मन्त्रीमा दिनबन्धु श्रेष्ठलाई नियुक्त गरेर सरकारमा सहभागी हुने निर्णय गरेको हो ।
कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले सांसद बीसी र श्रेष्ठलाई मन्त्रीमा नियुक्त गर्न मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई नाम समेत सिफारिस गरिसकिएको जानकारी दिए । उनीहरुलाई आजै मन्त्री नियुुक्त गरेर आइतबार सपथ खुवाउने कार्यक्रम रहेको बताइएको छ ।
यस्तो छ सरकारमा सहभागी हुने मन्त्रीका लागि १३ बुँदे आचारसंहिता
सरकारमा सहभागी हुनेहरुका लागि कांग्रेसले १३ बुँदे आचारसंहिता पनि जारी गरेको छ । आचारसंहितामा भ्रष्टाचारमा शून्य सहनशिलताको नीतिलाई अवलम्बन गर्ने, आर्थिक अनुशासन, स्वच्छता, मितव्ययिता, शादा जीवनशैली अपनाउने उल्लेख छ ।
यस्तै सरकारमा सहभागीहरुले दान, उपहार, पुरस्कार, चन्दा वा निजी सेवा, सुविधा, लाभ र अस्वभाविक निमन्त्रणालाई स्वीकार गर्न नपाइने उल्लेख छ । मन्त्रालयसँग प्रत्यक्ष सरोकार राख्ने विषयमा कोही कसैसँग व्यवसायिक साझेदार, सहयोगी बन्न तथा व्यवसाय गर्दा गर्न पनि कांग्रेसले प्रतिवन्ध लगाएको छ ।
सरकारमा सहभागी हुने मन्त्रीहरुले नागरिकहरुप्रति समान व्यवहार गर्नुपर्ने उल्लेख छ । ‘कसैको स्वाभिमान र अस्तित्वमाथि खलल हुने कुनैपनि कार्यलाई निरुत्साहित गर्नुपर्ने छ,’ आचारसंहितामा भनिएको छ, ‘कानुनले बर्जित गरेका कुनेपनि आचरण विपरित हुने कार्यहरु गर्न पाइने छैन् ।’




प्रतिक्रिया