कर्णाली प्रदेश सभामा माओवादीको अवरोध, बजेट सार्वजनिक अनिश्चित

कर्णाली प्रदेश सभामा माओवादीको अवरोध, बजेट सार्वजनिक अनिश्चित


सुर्खेत – नेकपा माओवादी केन्द्रले कर्णाली प्रदेशसभा बैठकमा अवरोध गरेपछि कर्णाली सरकारले आईतबार सार्वजनिक गर्ने आगामी आर्थिक बर्षको बजेट सार्वजनिक गर्ने कार्यसूची अनिश्चित बनेको छ ।

सरकारले बजेटमा एकलौटी गरेको भन्दै माओवादी केन्द्रले प्रदेशसभा बैठक अवरोध गरेको हो ।

प्रदेशसभा बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्र उपस्थित नभएपछि कर्णाली प्रदेशसभा बैठक अनिश्चित बनेको छ । दिउँसो ३ बजेलाई बोलाइएको बैठक माओवादीको विरोधपछि रोकिएको छ ।

माओवादी केन्द्र संसदीय दलका प्रमुख सचेतक कृष्णबहादुर जिसीले सत्ता पक्षले एकलौटी बजेट प्रस्तुत गर्न खोजेपछि विरोध जनाएको बताए ।

उनले भने, ‘सरकारले एकलौटी ढङ्गबाट बजेट ल्याउने प्रयास गरिरहेको छ । योजना बैंकमा कुन–कुन योजना समावेश गरिएको छ भन्ने विषय अहिलेसम्म थाहा नहुनु गम्भीर आपत्तिको विषय हो ।’

आईतबारको बैठकमा कर्णालीका आर्थिक मामिला तथा योजनामन्त्री राजीवविक्रम शाहले आगामी आर्थिक वर्ष २०८२/०८३ को वार्षिक नीति तथा कार्यक्रम कार्यान्वयनका लागि संसदमा बजेट प्रस्तुत गर्ने कार्यसूची थियो ।

प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि अनुमानित ३२ अर्ब ९९ करोड ६६ लाख ५५ हजार रुपैयाँको बजेट ल्याउने तयारी गरेपनि सत्ता र प्रतिपक्षबीचको विवादका कारण प्रदेशसभा बैठक अनिश्चितकालकाल लागि स्थगित गरिएको छ ।

आर्थिक मामिला तथा योजना मन्त्रालयका अनुसार बजेटको तयारी भएर प्रस्तुतिका लागि सबै तयारी पूरा थियो । तर प्रमुख प्रतिपक्षी दल माओवादीले छलफल विना बजेट बनाइएको भन्दै असहमति जनाएपछि बैठक अघि नबढ्ने अवस्था आएको छ ।

मुख्यमन्त्री कार्यालयका अनुसार बजेट अन्तिम चरणमा छ तर राजनीतिक सहमति विना प्रस्तुत गर्ने स्थिति छैन । सहमति जुटाउने प्रयास भइरहेको छ ।