सुर्खेत – पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई सरकारले पक्राउ गरेको विरोधमा कर्णालीका विभिन्न जिल्लाहरूमा एमालेले प्रदर्शन गरेको छ ।
आफ्ना अध्यक्ष ओलीलाई तत्काल रिहाईको माग गर्दै एमालेले प्रदर्शन गरेको हो । सुर्खेत, जुम्ला, कालिकोट र दैलेख लगायतका जिल्लाहरूमा एमाले कार्यकर्ताले प्रदर्शन गरेका छन् ।
जुम्लामा एमालेले राँके जुलुस समेत निकालेको छ । सबै जिल्लाका एमाले नेताहरूले सरकारले जबरजस्ती मुलुकलाई मुडभेडमा लिने खोजेको आरोप लगाएका छन् । उनीहरूले तत्काल अध्यक्ष ओलीलाई रिहा नगरे देशव्यापी आन्दोलनको चेतावनी समेत दिएका छन् ।
एमालेले जिल्ला जिल्लामा प्रदर्शन गर्न थालेपछि प्रहरीले सुरक्षा सर्तकता बढाएको छ । सम्भावित सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै कर्णालीको सुरक्षा व्यवस्था कडा पारिएको छ । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेपछि हुनसक्ने सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै कर्णालीमा सुरक्षा सतर्कता अपनाइएको छ ।
प्रदेशभरका सुरक्षा निकायलाई उच्च सतर्कता अपनाउन सर्कुलर जारी गरिएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
प्रदेश मातहतका सबै जिल्लाहरूमा सुरक्षा निकायलाई उच्च सतर्कताका साथ बस्न सर्कुलर भएको प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक रामप्रकाश शाहले बताए । जिल्लामा प्रहरी प्रमुखसहित सम्पूर्ण प्रहरी कर्मचारीको बिदा स्थगित गरिएको र सबैलाई स्ट्यान्डबाई बस्न निर्देशन भइसकेको उनले बताए ।
कुनै पनि स्थानमा अप्रत्याशित घटना हुन नदिन र भइहाले पनि तुरुन्त नियन्त्रण गर्न सकियोस् भनेर सुरक्षा संयन्त्रलाई पूर्ण तयारीमा राखिएको उनले बताए ।
आवश्यक परे तत्काल परिचालन गर्न सकिने गरी सुरक्षा व्यवस्थापन सुदृढ गरिएको उनको भनाइ छ । भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनको छानबिनका लागि गठित आयोगको सिफारिसअनुसार पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखक पक्राउ परेपछि राजधानी काठमाण्डुमा विरोध प्रदर्शन भइरहेका छन् ।




प्रतिक्रिया