सुर्खेत – कर्णालीलाई संसारसँग जोड्न सडक, विद्युत् र इन्टरनेटका एकीकृत विकासमा जोड दिन विज्ञहरूले सुझाव दिएका छन् ।
‘कुडा कर्नालीका’को सातौं संस्करणको दोस्रो दिन ‘कनेक्टिङ कर्णाली’ सत्रका सहभागी वक्ताहरूले कर्णाली प्रदेशको समग्र विकासका लागि भौतिक र डिजिटल पूर्वाधारको एकीकृत विकास जरुरी भएको बताएका छन् ।
सत्रमा स्वतन्त्र ऊर्जा उत्पादक संघका कार्यकारी सदस्य सुमन जोशी, नेपाल सरकारका पूर्वसचिव केशवकुमार शर्मा र एफवान सफ्टका प्रमुख कार्यकारी अधिकृत सुवाश शर्मा वक्ताको रूपमा सहभागी भएका थिए ।
स्वतन्त्र ऊर्जा उत्पादक संघका कार्यकारी सदस्य सुमन जोशीले कर्णालीमा ऊर्जाको प्रचुर सम्भावना भए पनि निजी क्षेत्र आकर्षित नभएको बताइन् ।
कर्णालीमा कुल उत्पादनको आधा आयोजनाहरूको विभिन्न चरणमा काम भइरहेको उनले बताइन् । अझै आधा उत्पादनका लागि कुनै योजना समेत बनाउन नसकिएको उनको भनाइ छ ।
उनले भनिन्, ‘कर्णालीमा झण्डै १८ हजार मेगावाट विद्युत् उत्पादन क्षमता अनुमान गरिएको छ, विभिन्न आयोजनाबाट हालसम्म करिब ९ हजार मेगावाटका आयोजनाहरू विभिन्न चरणमा रहेका छन् ।’
‘कर्णालीमा २०४५ सालबाट सुरु भएको विद्युत्को प्रसारण लाइनले त्यसको झण्डै ३ दशकपछि मात्र १३२ केभीको लाइन विस्तारले पनि विद्युत् विकासको गति सुस्त रहेको देखाउँछ,’ उनले थप भनिन् ।
सडक पहुँचको अभाव तथा लगानीको सुरक्षा प्रत्याभुती नहुँदा निजी लगानी भित्र्याउन नसकिएको उनको भनाइ छ । ठूला आयोजनाहरू होल्ड गरी राख्ने नीतिगत समस्या समाधान गरी ‘ट्रान्समिटर करिडोर’ निर्माणमा जोड दिनुपर्ने उनले बताइन् ।
नेपाल सरकारका पूर्वसचिव केशवकुमार शर्माले कर्णालीको भौगोलिक जटिलता र न्यून बजेटका कारण सडक निर्माण र स्तरोन्नतिमा ढिलाइ भएको बताए ।
‘२० प्रतिशत भूभाग ओगटेको कर्णालीमा सडकको दूरी अझै कम छ,’ उनले भने, ‘भेरी करिडोर, कर्णाली करिडोर र मध्यपहाडी राजमार्गले केही जिल्लालाई जोडे पनि पर्याप्त छैन ।’
सुर्खेत–जुम्ला सडकको मर्मत र सुरक्षाका काम भइरहेका कारण दुर्घटनामा केही कमी आएको उनको दाबी छ । ‘कर्णालीमा सडक विकास गरी आर्थिक गतिविधि चलायमान बनाउन सुरुङ मार्ग विस्तार जरुरी छ तर त्यसका लागि जनशक्ति र बजेट अभाव रहेको छ,’ उनले भने ।
एफवान सफ्टका प्रमुख कार्यकारी अधिकृत सुवाश शर्माले प्रविधिको पहुँच विस्तारका लागि पनि सडक र विद्युत् नै आधारभूत आवश्यकता भएको औल्याए । प्रविधिको पहुँच पुर्याउन गैरसरकारी संस्थाहरूसँग मिलेर डिजिटल साक्षरताका कामहरू गर्नुपर्नेमा उनले जोड दिए ।




प्रतिक्रिया