बालविवाह रोक्न कर्णालीका पण्डितलाई प्रशिक्षण

बालविवाह रोक्न कर्णालीका पण्डितलाई प्रशिक्षण

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सुर्खेत – बालविवाह न्यूनीकरण गर्ने उद्देश्यले प्रहरीले कर्णालीका १० वटै जिल्लामा पुरोहितलाई कानुनी प्रशिक्षण दिएको छ । प्रदेश प्रहरी कार्यालयको निर्देशनमा जिल्लास्थित प्रहरीले बुधबार एकैसाथ विभिन्न धर्मगुरुलाई प्रशिक्षण दिएको हो ।

प्रदेश प्रहरी प्रमुख एवं प्रहरी नायब महानिरीक्षक पूर्णचन्द्र जोशीले पुरोहितलाई कानूनीरूपमा सचेत गराए बालविवाह न्यूनीकरणमा ठूलो मद्दत पुग्ने बताए । ‘विवाह गराउने मुख्य जिम्मेवारी पुरोहितहरुकै हो,’ उनले भने, ‘अभिभावक र बालबालिका तयार भए पनि पुरोहितले कानुनी व्यवस्थालाई देखाएर विवाह गर्न इन्कार गरे त्यो विवाह नै हुन सक्दैन ।’

कानुनले बालविवाहलाई अपराध मानेको छ । मुलुकी फौजदारी संहिता, २०७४ मा बालविवाह गर्नेरगराउने व्यक्तिलाई ३ वर्षसम्म कैद र ३० हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ । प्रहरीले पुरोहितहरूलाई यही व्यवस्थाबारे जानकारी गराउन जिल्ला–जिल्लामा प्रशिक्षण कार्यक्रम सञ्चालन गरेको हो

प्रदेश प्रहरी कार्यालय सुर्खेतले चालू आर्थिक वर्ष २०७६–७७ मा सल्यानमा बालविवाहका तीन मुद्दा दर्ता भएको जनाएको छ । अघिल्लो आर्थिक वर्षमा सुर्खेत र दैलेखमा सातरसात, सल्यानमा तीन र जुम्लामा दुई गरी १९ मुद्दा दर्ता भएका थिए ।

त्यस्तै, प्रहरीले चालू आवको हालसम्मको अवधिमा बालविवाह गर्ने १७ जोडीलाई अभिभावकको जिम्मा लगाएको छ । अघिल्लो वर्ष प्रहरीले ५९ जोडीको उद्धार गरेको थियो । प्रदेश प्रहरी प्रमुख जोशीले झण्डै ५०० हिन्दू, बौद्ध, मुस्लिम र इसाईका धर्मगुरुलाई बोलाएर कानूनी प्रशिक्षण दिएको जानकारी दिए ।

प्रशिक्षणमा सुर्खेतमा १००, दैलेखमा ३९, कालिकोटमा ४१, जुम्लामा ५३, मुुगुमा २५, हुम्लामा २३, डोल्पामा ५१, सल्यानमा ९२, जाजरकोटमा ३२ र रुकुमपश्चिममा २३ पुरोहित सहभागी थिए । सुर्खेतका अगुवा पुरोहित तिलकप्रसाद रिजालले बालविवाह, जातीय विभेदलगायतका कुरीतिको पक्षमा आफूहरू नरहेको बताउँदै कानुनी व्यवस्थाको पालना गर्न÷गराउन प्रतिबद्धता जनाए ।