यातायात कार्यालयमा कर्णालीका मुख्यमन्त्री शाहीको छड्के

यातायात कार्यालयमा कर्णालीका मुख्यमन्त्री शाहीको छड्के

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कर्णाली – कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले यातायात व्यवस्था कार्यालय सुर्खेतको आकस्मिक निरीक्षण गरेका छन् । निरीक्षणको क्रममा मुख्यमन्त्री शाहीले सेवाग्राहीसँग सेवा लिँदा देखिएका समस्या र समाधानको उपायबारे बुझेका थिए ।

सेवाग्राहीले अनुसूची फारम कार्यालयले भर्न नदिएको, दलालमार्फत अनुसूची फारम भर्दा १५ लाग्ने फारमलाई १०० लिने गरेको, पैसा तिर्नका लागि पनि घण्टौँसम्म लाइनमा बस्नुपर्ने बाध्यता रहेको गुनासो मुख्यमन्त्रीसमक्ष पोखेका थिए ।

सेवाग्राहीका गुनासा सुनेपश्चात् मुख्यमन्त्री शाहीले अनलाइनमार्फत शुल्क तिर्ने व्यवस्था तत्काल मिलाउन, आवश्यक जनशत्ति प्रदेश सरकारसँग माग गर्न कार्यालय प्रमुखलाई निर्देशन दिए । उनले कार्यालय आफैँले गर्न सक्ने कामसमेत नभएको भन्दै तत्काल सुधार र सेवाका कामलाई अघि बढाउन निर्देशन दिए ।

मुख्यमन्त्री शाहीले सेवाग्राहीका गुनासो सम्बोधनका लागि सुर्खेतका प्रमुख जिल्ला अधिकारी छवि रिजालसँग छलफल समेत गरेका छन् । उनले यातायात कार्यालय बाहिर अनुसूची फारम भर्ने प्रयोजनका लागि खोलिएका अवैध पसल तत्काल बन्द गर्न, सवारी साधन र पार्किङको व्यवस्था मिलाउन निर्देशन दिए ।

मुख्यमन्त्री शाहीको निर्देशनलगत्तै जिल्ला प्रशासन कार्यालयले यातायात कार्यालय बाहिरका पसल तत्काल हटाउन तथा ट्राफिक व्यवस्थापन गरिएको प्रशासनले जनाएको छ ।