कर्णालीका १७ स्थानीय तह अझै बैंकविहीन, सरकारको निर्देशन भएन कार्यान्वयन

कर्णालीका १७ स्थानीय तह अझै बैंकविहीन, सरकारको निर्देशन भएन कार्यान्वयन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सुर्खेत – नेपाल राष्ट्र बैंकले प्रत्येक स्थानीय तहमा बैंकिङ सेवा विस्तार गर्न निर्देशन दिएको एक वर्ष बितिसक्दासमेत कर्णालीका १७ स्थानीय तह अझै बैंकविहीन छन्। सुरक्षा, विद्युत र इन्टरनेटजस्ता आधारभूत पूर्वाधारको अभाव रहेको जनाउँदै बैंकले ती स्थानीय तहमा शाखा विस्तार नगरेका हुन्। कर्णाली प्रदेशका ७९ मध्ये हालसम्म ६२ स्थानीय तहमा मात्र बैंकका शाखा छन्।

नेपाल राष्ट्र बैंकले तोकिएका स्थानमा आ–आफ्नो शाखा सञ्चालन गर्न सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकका साथै विभिन्न निजी बैंकलाई एक वर्षअघि नै निर्देशन दिएपनि कार्यान्वयन नहुँदा सेवाग्राहीलाई जिल्ला सदरमुकाम आउनुपर्ने बाध्यता कायमै छ।

राष्ट्र बैंकका निर्देशक हिमप्रसाद न्यौपानेले स्थानीय तहमा शाखा विस्तार गर्न सम्बन्धित बैंकलाई ताकेता गरिरहेको बताए। ‘बैंकलाई आवश्यक पर्ने आधारभूत पूर्वाधार नहुँदा शाखा विस्तार गर्न समस्या रहेछ’, उनले भने, ‘हामीले पटक–पटक ताकेता गर्दासमेत बैंकले सुरक्षा, विद्युत र इन्टरनेटको समस्या देखाएका छन्।’

निर्देशक न्यौपानेले आगामी असार मसान्तभित्र सबै स्थानीय तहमा वाणिज्य बैंकले शाखा विस्तार गर्ने जिकिर गरे। ‘सरकारी कारोबारको सहजताका लागि ०७६ असार मसान्तसम्म देशभरका स्थानीय तहमा आफ्नो शाखा विस्तार गर्न वाणिज्य बैंकलाई पनि निर्देशन दिएका छौँ’, उनले भने। राष्ट्र बैंकले कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा छिट्टै आफ्नो प्रादेशिक संरचना निर्माण गर्ने जनाएको छ।