सुर्खेत – कर्णाली प्रदेश सरकारमा थपिएका माओवादी केन्द्रका दुई मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । सोमबार प्रदेश प्रमुख तिलक परियारले आर्थिक मामिला तथा योजना मन्त्री कृष्णा शाह र जलस्रोत तथा उर्जा विकास मन्त्री रातो कामीलाई शपथ ग्रहण गरेका हुन् ।
उनीहरुलाई मुख्यमन्त्री जीवनबहादुर शाहीले नियुक्त गरेर शपथका लागि प्रदेश प्रमुखको कार्यालयका नाम पठाएका थिए । यसअघि माओवादीले आफ्ना सरकारमा सहभागी दुई मन्त्री आर्थिक मामिला तथा योजना मन्त्री विन्दमान विष्ट र जलस्रोत तथा उर्जा विकासमन्त्री गणेशप्रसाद सिंहलाई फिर्ता बोलाएर मन्त्री बन्न बाँकी सांसद शाह र कामीलाई मन्त्रीका लागि मुख्यमन्त्री समक्ष सिफारिस गरेको थियो ।
उनीहरुको शपथ ग्रहणसँगै कर्णालीमा माओवादी केन्द्रबाट प्रतिनिधित्व गर्ने ११ जना प्रदेश सांसदमा एक जना उपसभामुख, एक जना गैर–सांसद मन्त्री गरेर जम्मा ११ जना मन्त्री बन्न सफल भएका छन् । कर्णाली प्रदेश सरकार गठन भएयता हालसम्म माओवादी केन्द्रबाट एक मुख्यमन्त्रीसँगै १० जना मन्त्री बनेका छन् ।
माओवादीबाट महेन्द्रबहादुर शाही मुख्यमन्त्री बनेर करिब तीन वर्ष कार्यकाल बिताइसकेका छन् । आन्तरिक मामिला तथा योजनामन्त्री नरेश भण्डारी, भूमी व्यवस्था कृषी तथा सहकारी मन्त्री विमला केसी, आर्थिक मामिला तथा योजना मन्त्री गोपाल शर्मा, आन्तरिक मामिला तथा कानुनमन्त्री सीता नेपालीले जिम्मेवारी लिइसकेका छन।
यस्तै, विन्दमान विष्ट आर्थिक मामिला तथा योजना मन्त्री, गणेशप्रसाद सिंह जलस्रोत तथा उर्जा विकास मन्त्री, वीरबहादुर शाही उद्योग पर्यटन वन तथा वातावरणमन्त्री, छिरिङ् डम्डुल लामा ‘कार्चेन’ (गैर सांसद) उद्योग पर्यटन वन तथा वातावरणमन्त्री बनिसकेका छन् ।
हाल माओवादी केन्द्रबाट नै शाह आर्थिक मामिला तथा कानुनमन्त्री र कामीले जलस्रोत तथा उर्जा विकासमन्त्रीको शपथ लिएका हुन्। साथै माओवादीकी पुष्पा घर्ती (विष्ट) उपसभामुख छन् । संघमा होस या प्रदेशमा मन्त्री बन्न सांसदहरुको तानातान हुने गर्छ । यस्तोमा नेकपा माओवादी केन्द्रले भने कर्णालीमा सबैलाई मन्त्री बन्ने अवसर दिएको हो ।




प्रतिक्रिया