कर्णालीमा एमालेको नेतृत्वको सरकार बन्दै, सत्ता कब्जा गर्ने प्रचण्डको चेतावनी

कर्णालीमा एमालेको नेतृत्वको सरकार बन्दै, सत्ता कब्जा गर्ने प्रचण्डको चेतावनी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – कर्णाली प्रदेशमा नेकपा एमालेले नयाँ सरकार गठन गर्ने तयारी गरेको छ । माओवादी केन्द्रको नेतृत्वमा बनेको कर्णाली प्रदेश सरकार अल्पमतमा परेपछि एमालेले नेतृत्व लिने तयारी गरेको हो ।

मंगलबार एमालेबाट तीन जना मन्त्रीहरुले सामूहिक राजीनामा दिएपछि मुख्यमन्त्री महेन्द्रबहादुर शाही नेतृत्वको सरकार अल्पमतमा परेको छ ।

मुख्यमन्त्री शाही नेतृत्वको सरकारमा रहेका सामाजिक विकास मन्त्री दल रावल, आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वाला र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नन्दसिंह बुढाले सामूहिक राजीनामा दिएका हुन् ।

४० सिट रहेको कर्णाली प्रदेशमा एमालेको एक्लै २० सिट रहेको छ । भने माओवादी केन्द्रसँग १२ जना सांसद छन् । त्यस्तै नेपाली कांग्रेसको ६ सिट र राप्रपाको एक सिट छ । सभामुख एमालेबाट छन् । उनको संख्या घट्दा एमालेको कर्णालीमा १९ सिट हुन्छ ।

कर्णाली प्रदेशसभामा एमालेसंग एकल सरकार बनाउने सक्ने पर्याप्त संख्या छ । कर्णाली प्रदेशमा एमालेभित्रका माधव नेपाल समूहले सरकारबाट राजीनामा दिएपछि मुख्यमन्त्री शाही नेतृत्वको सरकार ढल्ने निश्चित भएको छ ।

कर्णाली प्रदेशका एमाले संसदिय दलका नेता यामलाल कँडेलले एमालेको सरकार गठनका लागि गृहकार्य सुरु गरिसकेका छन् । उनले नेपाल पक्षलाई समेत समेटेर अघि बढ्ने तयारी गरेका छन् ।

कंडेलले माधव पक्षका सांसदहरुसंग छलफल गरेर प्रदेशमा एमालेलाई एक ढिक्का बनाउने र नयां सरकार बनाउने तयारी गरेका हुन् । कंडेल अहिले एमालेको प्रदेश इन्चार्ज समेत छन् । उनी नै मुख्यमन्त्रीका दावेदार हुन ।

सत्ता कब्जा गर्ने प्रचण्डको चेतावनी

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कर्णाली प्रदेश सरकार ढाल्ने षड्यन्त्र सफल भए सत्ता कब्जा गर्ने चेतावनी दिएका छन् । मंगलबार रुकुम पश्चिममा भएको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले कर्णालीमा सरकार ढाल्ने षड्यन्त्र भइरहेकाले आफूहरुले सफल हुन नदिने बताए ।

‘तर, यदि सबै मिलेर अपदस्तै गर्ने भन्यो भने पनि हामी अपदस्त हुँदैनौं । हामी प्रमुख प्रतिपक्षको रुपमा जनताको साथमा बसेर फेरि सरकार कब्जा गर्ने ठाउँमा हामी फेरि पुग्ने छौं भन्ने विश्वास म तपाईंहरुलाई दिलाउन चाहान्छु’, प्रचण्डले भने ।

उनले कर्णाली सरकार अपदस्त गर्ने कोशिस भइरहेकाले आफू अन्तिम सम्म पनि सफल हुन नदिने रणनीतिमा रहेको बताए ।

‘हाम्रो सरकारविरुद्ध अन्तिम रुपमा अपदस्त गर्ने कोसिस भइरहेको छ । म आफैँ लागि पनि राख्याछु, सकेसम्म हाम्रो सरकार बचोस् । हामी अहिले पनि छलफलमा छौं । यो कार्यक्रमपछि पनि हामी लाग्छौं,’ प्रचण्डले भने ।